वैदेशिक सहायतालाई बजेट र लेखापरीक्षणको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं,४ भदौ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखापरीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।बिहीबार बसेको समितिको बैठकमा वैदेशिक सहायता परिचालन, व्यवस्थापन तथा त्यसबाट हुने खर्चका विषयमा छलफल भएको थियो । बैठकमा भएका छलफलको सारांश सुनाउँदै समितिका सभापति भरतबहादुर खड्काले समितिले विभिन्न विषयमा सुझाव तथा निर्णय गरेको जानकारी दिनु भयो ।

 

सभापति खड्काका अनुसार राष्ट्रिय आवश्यकता, प्राथमिकता र स्वीकृत योजना तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित वैदेशिक विकास सहायता मात्र स्वीकार तथा परिचालन गर्ने व्यवस्था मिलाउनुपर्ने समितिको निष्कर्ष छ ।त्यस्तै, नगद, वस्तुगत वा प्राविधिक जुनसुकै प्रकृतिको वैदेशिक सहायता भए पनि सम्भव भएसम्म राष्ट्रिय बजेट प्रणाली तथा सरकारी कोषमार्फत परिचालन गर्न र त्यस्तो सहायतालाई लेखापरीक्षणको दायरामा ल्याउन समितिले जोड दिएको छ ।राष्ट्रिय बजेट तथा सरकारी कोष प्रणालीभन्दा बाहिरबाट परिचालन हुने वैदेशिक सहायताको पूर्ण विवरण दातृ पक्षले सरकारलाई उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने समितिको भनाइ छ । प्रणालीबाहिरको सहायतालाई राष्ट्रिय प्रणालीमा आबद्ध गर्न स्पष्ट कार्यविधि तयार गरी कार्यान्वयन गर्नुपर्ने पनि समितिले जनाएको छ ।

 

वैदेशिक सहायता प्राप्त हुने सुनिश्चितता भएपछि मात्र वैदेशिक स्रोततर्फको रकम बजेटमा समावेश तथा विनियोजन गर्ने व्यवस्था मिलाउनुपर्ने, सहायता रकमबाट भएको खर्चको सोधभर्ना समयमै प्राप्त हुने व्यवस्था गर्नुपर्ने र सोधभर्ना ढिलाइका कारण नेपाल सरकारको स्रोतमा पर्ने अतिरिक्त भार न्यून गर्नुपर्ने समितिको निर्णय छ ।समितिले सबै वैदेशिक सहायता, प्रतिबद्धता, वास्तविक प्राप्ति, खर्च, उपयोग तथा सोधभर्नाको एकीकृत अभिलेख राख्नुपर्ने जनाएको छ । वैदेशिक सहायता सम्बन्धी सूचना प्रणालीमा सबै सहायता अनिवार्य रूपमा दर्ता गरी सोही प्रणालीमार्फत मात्र आयोजना स्वीकृति गर्ने व्यवस्था लागू गर्नुपर्ने समितिको सुझाव छ ।

 

सरकारी प्रणालीप्रतिको विश्वास बढाउन खरिद प्रक्रिया, लेखापरीक्षण र राष्ट्रिय कोष व्यवस्थापन प्रणालीलाई पारदर्शी, प्रभावकारी तथा अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा पनि समितिले जोड दिएको छ ।त्यस्तै, वैदेशिक सहायताबाट सञ्चालित आयोजना निर्धारित समय र लागतभित्र सम्पन्न हुने गरी आयोजना व्यवस्थापन, अनुगमन तथा कार्यान्वयन क्षमता अभिवृद्धि गर्नुपर्ने समितिको निष्कर्ष छ ।वैदेशिक परामर्श सेवा लिँदा लाभ–लागत विश्लेषण गर्नुपर्ने र नयाँ प्रविधि, सीप तथा ज्ञान हस्तान्तरण हुने वा जटिल प्राविधिक कार्य आवश्यक पर्ने अवस्थामा मात्र त्यस्तो सेवा लिनुपर्ने नीति अवलम्बन गर्न समितिले सुझाव दिएको छ ।

 

सभापति खड्काले निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, महालेखा परीक्षकको कार्यालय तथा प्रदेश र स्थानीय तहसँग आवश्यक समन्वय गरी स्पष्ट कार्ययोजना तयार गर्नुपर्ने बताउनु भयो ।समितिलाई निर्णय कार्यान्वयनको प्रगति तथा ‘अफ बजेट’ र ‘अफ ट्रेजरी’ वैदेशिक सहायताको अद्यावधिक विवरण नियमित रूपमा उपलब्ध गराउन पनि अर्थ मन्त्रालयलाई निर्देशन दिने उहाँले बताउनु भयो।उहाँले भन्नु भयो, ‘हामीले प्राप्त गरेको बजेटलाई ठीक ढंगबाट आर्थिक अनुशासन कायम राख्दै प्रयोग गर्नुपर्छ । विश्वको बदलिँदो परिवेशमा हामीले सधैँ अरूको भर पर्ने बानी हटाएर आफ्नै खुट्टामा उभिने नयाँ विकल्पतर्फ जानैपर्छ ।’

 

सभापति खड्काले अर्थमन्त्रीले अघि सारेको भिजन र दृढतामा सबैले साथ दिनुपर्ने बताउनु भयो ।उहाँले दातृ संस्थाहरूको सहयोगलाई स्वागत गर्दै उनीहरूले गरेको खर्च पारदर्शी रूपमा नेपालको लेखा प्रणालीमा समेटिनुपर्ने बताउनु भयो ।‘हामी दातृ संस्थाहरूलाई स्वागत गर्छौं, तर उहाँहरूलाई नियन्त्रणमा राख्दैनौँ; उहाँहरूले गरेको खर्च पारदर्शी ढंगले हाम्रो लेखा प्रणालीमा आउँदा त्यसले उहाँहरूप्रतिको जनविश्वास झन् बढ्दै जानेछ,’ सभापति खड्काले भन्नु भयो।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

राप्रपा संसदीय दलका नेता उद्धव थापा पार्टीबाट निष्कासित

काठमाडौँ , ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रदेशसभा संसदीय दलका नेता उद्धव थापालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ।बिहीबार बसेको

अख्तियार पूर्वकर्मचारीहरूको क्लब बन्यो, मर्यादा कमजोर हुँदै गयो : सांसद सिंह

काठमाडौं,४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको मर्यादा र प्रभावकारिता दिनप्रतिदिन कमजोर हुँदै गएको टिप्पणी गर्नु भएको

वैदेशिक सहायतालाई बजेट र लेखापरीक्षणको दायरामा ल्याउन संसदीय समितिको निर्देशन

काठमाडौं,४ भदौ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता, बजेट प्रणाली, सार्वजनिक कोष, पारदर्शिता र लेखापरीक्षणको दायराभित्र रहेर परिचालन गर्न सरकारलाई निर्देशन

बदलिँदो समाज र विश्व परिवेशअनुसार दलहरू रुपान्तरित हुनुपर्छ नैनसिंह महर

काठमाडौं ,४ भदौ। नेपाली कांग्रेसका नेता नैनसिंह महरले समाजवादी चिन्तक एवं कांग्रेस नेता प्रदीप गिरीले अघि सारेको निष्ठा, नैतिकता र प्रजातान्त्रिक समाजवादको विचारलाई आत्मसात् गर्दै

प्रहरी कार्यालय घेराउ, जीतपुर सिमरा तनावग्रस्त

रौतहट,४ भदौ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ मा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासीले प्रहरी कार्यालय घेराउ गरेका छन् ।बालिकाको

त्रास होइन, प्रमाणका आधारमा काम गर्न अख्तियारलाई मन्त्री गौतमको आग्रह

काठमाडौं,४ भदौ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले अख्तियार दुरुपयोग अनुसन्धान आयोग त्रास सिर्जना गरेर होइन, निष्पक्षता, व्यावसायिकता र प्रमाणमा आधारित अनुसन्धान तथा