काठमाडौं,५ भदौ । नेपाल सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीलाई नियुक्त गरेको छ ।मन्त्रिपरिषद्को भदौ ३ गते बसेको बैठकले नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम कार्कीलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।
उदयपुरका स्थायी बासिन्दा कार्की नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट निवृत्त हुनुन्छ । उहाँ यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुन्थ्यो। कार्की २०८० माघ ३ गते खुला प्रतिस्पर्धाबाट कोषको कार्यकारी निर्देशकमा छनोट हुनु भएको थियो ।कार्कीसँग नेपाल राष्ट्र बैंकका अतिरिक्त नेपाल ग्रामीण विकास बैंक र किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा काम गरेको अनुभव छ ।
उहाँले अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयबाट मास्टर अफ बैंकिङ एन्ड फाइनान्स (एमबीएफ) तथा त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गर्नु भएको छ । केन्द्रीय बैंकिङ, वित्तीय स्थिरता र वित्तीय बजार विश्लेषणलगायतका विषयमा उहाँले अन्तर्राष्ट्रियस्तरका तालिमसमेत प्राप्त गर्नु भएको छ।









