भारत,५ भदौ। भारतको विशाखापट्नममा शिक्षिकाको कुटाइपछि ६ वर्षीय बालकको मृत्यु भएको छ।
बिहीबार भएको घटनामा लिटिल गार्डन्स स्कुलको यूकेजीमा अध्ययनरत प्रणय तेजाको मृत्यु भएको हो।
होमवर्क नगरेको भन्दै शिक्षिकाले बालकलाई कक्षाकोठामै कुटपिट गरेको जनाइएको छ। शिक्षिकाले थप्पड हानेलगत्तै बालक उनकै काखमा ढलेको दृश्य कक्षाकोठाको सीसीटीभीमा कैद भएको छ।
परिवारका सदस्यले बालक अत्यधिक त्रसित भएका कारण हृदयाघात भएको आरोप लगाएका छन्।
उनीहरूले शिक्षिकाले बालकलाई लज्जित बनाउने प्रयाससमेत गरेको आरोप लगाएका छन्।
शिक्षिकाको काखमा ढलेका बालकलाई तत्काल किङ जर्ज अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
कक्षाकोठाको सीसीटीभी फुटेज सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटना बाहिर आएको हो। प्रहरीले घटनाबारे अनुसन्धान सुरु गर्दै सीसीटीभी फुटेजको अध्ययन गरिरहेको छ।
बालकमा यसअघि कुनै स्वास्थ्य समस्या थियो वा थिएन भन्नेबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनाको वास्तविक कारण पुष्टि गर्न प्रहरीले पोस्टमार्टम रिपोर्टको पर्खाइमा रहेको बताएको छ।









