काठमाडौं,६ भदौ । बाराको सिमरामा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घट्नामा प्रहरी गहिरो अनुसन्धान गरिरहेको दाबी गरेको छ ।गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो ।प्रहरी मुख्यालय नक्सालबाट प्राप्त जानकारी अनुसार ०८३।०४।३१ गते अन्दाजी ०८ः३० वजेको समयमा मेरो छोरी वर्ष ३ की गरीमा चौधरी हराएको हुँदा खोजतलास गरीपाउँ भन्ने समेत व्यहोराको निजको आमा मानमति चौधरी थारुले सोही दिन ११ः१५ वजेको समयमा जिल्ला प्रहरी कार्यालय बारामा निवेदन दिएको प्रहरी कार्यालयबाट माताहत लगायत तालुक कार्यालयहरुमा खोजतलासका लागि हुलिया परीपत्र गरिएको हो ।
प्रहरीले अगाडि भनेको छ,‘जानकारी प्राप्त हुनासाथ प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको मोबाइल टोली निवेदकको घर पुगी निवेदिका आमासँग सोधपुछ गरी हुलास पछाडि, जगदम्बा पछाडि, सिमरा चौक, जितपुर, एयरपोर्ट, रंगशाला वरिपरिको जंगल, औराहा लगायतको शंकास्पद स्थानमा खोजतलास गरेको हो । सोही दिन प्रहरी कार्यालयबाट खटिएको टोलीले पथलैया, दशधुरे, सिमरा चौक लगायतका स्थानमा खोजतलास गरेको साथै क्यूआरटी टोलीले पथलैया, दुधौरा बस्ती, जितपुर, सिमरा चौक लगायतका स्थानमा भौतिक रुपमा खोजतलास गर्नुका साथै वडा कार्यालयमा रहेको सीसी क्यामेरा चेकजाँच गरेको हो,’ प्रहरीले अगाडि भनेको छ,‘मिति २०८३।०५।०१ गते यस कार्यालयबाट खटीएको क्यूआरटी टोलीले औराहा, परवानीपुर लगायत निवेदिका बस्ने स्थानको वरिपरिको जंगल एरियामा खोजतलास गरेको हो ।’
त्यस्तै, मिति २०८३।०५।०१ गते प्रहरी कार्यालयबाट खटिएको टोलीले जितपुर, नितनपुर, छातापिपरा लगायतका स्थानमा खोजतलास गरेको, मिति २०८३।०५।०२ गते मृतकका बुबा, स्थानिय समाजसेवी र यस कार्यालयबाट खटिएको संयुक्त टोलीले शंकास्पद स्थानको सीसीटीभी फुटेज चेकजाँच गर्दै प्राविधिक तवरबाट समेत खोजतलास गरिएको पनि प्रहरीले जनाएको छ ।अनुसन्धानकै क्रममा मिति २०८३।०५।०२ गते अन्दाजी १७ः४५ वजेको समयमा यस कार्यालयका प्रमुखलाई जिल्ला बारा जितपुरसिमरा वडा नं १ स्थित बीर वहादुर रोकाको खाली घरमा शंकास्पद वस्तु मरेको गन्ध आएको जानकारी प्राप्त हुनसाथ कार्यालय प्रमुख सहितको टोली खटएको र तालुक जिप्रका बाराबाट प्रहरी उपरीक्षक समेत टोली घट्नास्थलमा खटी आउनु भएको प्रहरीबाट प्राप्त जानकारी पत्रमा उल्लेख छ ।
सोही घट्नास्थलमा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगंजबाट तालिम प्राप्त कुकुर सहितको टोली समेत माग गरी खटी आएको पनि प्रहरीले जनाएको छ ।मिति २०८३।०५।०२ गते २२ः०० वजे शंकित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिएको प्रारम्भिक अनुसन्धानवाट जितपुर वडा नं २ वस्ने भिमसेन थापाको छोरा वर्ष १६ को ना १ ज ७७५८ नम्वरको म्याजिकको सहचालक सुमन थापाले निज नाबालिकालाई चकलेट दिई ललाई फकाई गरी घट्नास्थलमा लगि करणी गरी मारेको खुल्न आएको र अर्का शंकित उल्लेखित म्याजिकका चालक जितपुरसिमरा वडा नं १ वस्ने वर्ष २४ को प्रोगेश चौधरीलाई पक्राउ गरी जवरजस्ती करणी तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी मिति २०८३।०५।०३ गते सम्मानित बारा जिल्ला अदालतवाट दिन ४ को म्यादथप भई थप अनुसन्धान कार्यगरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।
यता, गृहमन्त्री सुधन गुरुङले पनि जघन्य अपराध रोक्न बलियो कानुनी तथा संस्थागत व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो।तीन वर्षीया चौधरी माथि भएको जघन्य अपराधले आफूलाई अत्यन्त दुःखी बनाएको बताउँदै उहाँले घटनामा कानुनले दिन सक्ने अधिकतम न्याय सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ।









