रसुवा बाढी गएको ११ दिनपछि प्रभावित क्षेत्र पुग्ने अवसर मिल्यो। समाचारमा बाढीको विनाशबारे धेरै कुरा सुनिरहेको थिएँ। तस्बिर र भिडियोहरू पनि हेरिरहेको थिएँ। तर, आँखै अगाडि पुगेर त्यहाँको अवस्था देख्दा अनुभूति अर्कै हुँदो रहेछ।
कतिपय ठाउँमा बाढीले घर मात्र बगाएको छैन, बस्तीको अस्तित्व नै मेटाइदिएको छ। घट्टेखोला र टिमुरे पुग्दा अहिले त्यहाँ मानव बस्ती छैन भन्दा पनि हुन्छ। हिजोसम्म मानिसको चहलपहल हुने ठाउँ आज सुनसान छ। बाढीले केवल भौतिक संरचना होइन, मानिसको जीवनको एउटा अध्याय नै बगाएर लगेझैं लाग्यो।
उत्तरगयामा बाढी प्रभावितलाई तीनवटा होल्डिङ सेन्टरमा राखिएको रहेछ। शिवालय आधारभूत विद्यालयमा रहेको होल्डिङ सेन्टरमा सुरुमा ६५ जना थिए। म पुग्दा करिब ४० देखि ४२ जना मात्र बाँकी थिए। विस्तारै प्रभावितलाई तल्लो क्षेत्रमा स्थानान्तरण गरेर विद्यालय पुनः सञ्चालन गर्ने तयारी भइरहेको रहेछ।
त्यहाँ आस्था बीबीएस चौथो वर्षमा अध्ययनरत विद्यार्थी किरण बुढाथोकीलाई पनि भेटें। उनी एक सातादेखि उत्तरगयामै रहेर प्रभावितका बीचमा काम गरिरहेका रहेछन्। विपत्तिको समयमा आफ्नो पढाइ र व्यक्तिगत कामभन्दा माथि उठेर युवाहरू यसरी खटिएको देख्दा मनमा आशा पलायो।
वेत्रावती पुगेपछि बाढीको वास्तविक शक्ति अझ नजिकबाट महसुस भयो। स्थानीयसँग बुझ्दा करिब ७० प्रतिशत बजार र घरहरू बाढीले बगाएको जानकारी पाएँ। मानिसहरू घर गुमाएपछि कोही विदुर पुगेका छन्, कोही काठमाडौंमा आफन्तको शरणमा छन्। आफ्नै घर भएका कतिपय उतै गएका छन्। बाँकीलाई होल्डिङ सेन्टरमा राखिएको छ।
विदुरमा पनि बाढी प्रभावितको संख्या ठूलो रहेछ। उद्धार गरेर ल्याइएका मानिसहरूलाई पनि यहीँ राखिएको छ।
तर, एउटा कुराले मलाई निकै सोच्न बाध्य बनायो।
राहतको अभाव देखिएन। बरु राहतको व्यवस्थापन अब चुनौती बन्न थालेको देखियो।
मैले पुगेका प्रायः सबै ठाउँमा पर्याप्त राहत सामग्री देखेँ। कतिपय होल्डिङ सेन्टरमा त महिनौंसम्म पुग्ने खाद्यान्न जम्मा भइसकेको रहेछ। कतिपय ठाउँमा सामग्री राख्ने ठाउँसमेत अभाव हुन थालेको रहेछ।
एउटा अन्तर्राष्ट्रिय संस्थाले २०० परिवारका लागि ग्यास, कुकर, कराही, हटपट, ओढ्ने–ओछ्याउने र लगाउने कपडा, साबुन, पेस्ट, ब्रस लगायतका सामग्री लिएर उत्तरगया पुगेको रहेछ। उनीहरूको उद्देश्य वास्तविक पीडित परिवारलाई ती सामग्री हस्तान्तरण गर्नु रहेछ। तर, त्यहाँ जम्मा ६५ परिवार मात्र भेटिए। बाँकी १३५ परिवारका लागि ल्याइएका सामग्री विदुर नै फर्काउनुपरेछ।
यो दृश्यले मलाई एउटा प्रश्न गरायो, अब हामीले राहत पठाउने मात्र होइन, राहतको आवश्यकता कहाँ छ भनेर पनि बुझ्नुपर्ने बेला भएन र ?
५/१९ गते शनिबार विदुर पुग्दा करिब ५० वटा ठूला ट्रक र सयौं साना गाडी राहत सामग्री बोकेर आइरहेका देखेँ। बाहिरबाट हेर्दा लाग्थ्यो, सिंगो देश नै रसुवाका लागि केही बोकेर आइरहेको छ।
यो दृश्य आफैंमा सुखद थियो। विपत्तिमा परेको मानिसलाई सहयोग गर्न देश–विदेशमा रहेका नेपालीहरूमा जुन भावना देखिएको छ, त्यसले हाम्रो समाज अझै संवेदनशील छ भन्ने देखाउँछ।
तर अर्को दृश्यले मन खिन्न पनि बनायो।
कतिपय ठाउँमा मानिसहरू आफू राहत बाँड्न गएको देखाउनकै लागि होल्डिङ सेन्टरमा सामग्री हस्तान्तरण नगरी अन्य गाउँलेलाई सामग्री बाँडिरहेका थिए। जो वास्तविक पीडित होइनन्, उनीहरूलाई पनि सिरक, डसना, ग्यास चुल्हो, कुकर लगायतका सामग्री बाँडेर फोटो खिचिरहेका दृश्य देखिए।
स्थानीय २०–३० वटा स्कुटर र मोटरसाइकलमा मानिसहरू यसरी सामग्री बाँड्न दौडिरहेको देख्दा मनमा प्रश्न उठ्यो, हामी राहत दिन गएका हौं कि राहत बाँडेको देखाउन ?
यो प्रश्न कसैलाई आरोप लगाउन होइन। विपत्तिको समयमा सबैको मनमा सहयोग गर्ने भावना जाग्नु सकारात्मक कुरा हो। तर, सहयोग सही ठाउँमा, सही व्यक्तिसम्म र सही समयमा पुग्नु झनै महत्वपूर्ण हुन्छ।
हामीले घरबाट एउटा कम्बल, एउटा कुकर वा केही किलो चामल पठाउँदा त्यसले कसैको जीवनमा ठूलो अर्थ राख्न सक्छ। तर, जब आवश्यकता भन्दा धेरै सामग्री एउटै ठाउँमा थुप्रिन्छ र अर्को ठाउँमा अभाव हुन्छ, हाम्रो सद्भावनाको व्यवस्थापन कमजोर भएको देखिन्छ।
मलाई लाग्छ, अब राहतको स्वरूप बदल्ने बेला आएको छ। अब राहत मात्र होइन, पुनर्निर्माण चाहिएको छ।
मैले देखेको रसुवा अहिले खाना र कपडाको समस्या छैन। यहाँ सडक चाहिएको छ। पुल चाहिएको छ। विद्यालय चाहिएको छ। स्वास्थ्य चौकी चाहिएको छ। घर चाहिएको छ। बस्ती चाहिएको छ। सबैभन्दा ठूलो कुरा, विस्थापित मानिसलाई आफ्नो ठाउँमा फेरि उभिन सक्ने वातावरण चाहिएको छ।
काठमाडौंमा पनि बाढी प्रभावित परिवारहरूको पीडा देखिन्छ। क्रियापुत्री बस्ने मन्दिरका भवनहरू भरिभराउ छन्। लोलाङको मन्दिरमा निर्माणाधीन क्रियापुत्री भवनमा समेत त्रिपाल टाँगेर चार परिवारले आफ्नो संस्कार गरिरहेका रहेछन्।
सोचें, विपत्तिले मानिसको घर मात्र खोस्दैन रहेछ। उसले संस्कार गर्ने ठाउँसम्म खोस्दो रहेछ।
यति ठूलो पीडाका बीच पनि एउटा कुरा भने खुसी लाग्ने थियो। देशभित्र र देशबाहिर रहेका नेपालीहरूमा पीडामा परेकालाई सहयोग गर्नुपर्छ भन्ने भावना बलियो बनेको छ। कसैले पैसा पठाएको छ, कसैले खाद्यान्न, कसैले कपडा, कसैले श्रम। कसैले समय दिएको छ, कसैले आफ्नो सवारी साधन।
यो भावनालाई अब सही दिशामा लैजानुपर्छ।दिनदिनै सयौं गाडीमा राहत सामग्री आइरहँदा मेरो मनमा अर्को प्रश्न उठेको छ, यी सामग्री सुरक्षित कहाँ राख्ने ?
हामीले राहत पठाउने उत्साहसँगै त्यसको भण्डारण, वितरण र आवश्यकताको सही मूल्यांकन पनि गर्नुपर्छ। नत्र आज सहयोगका रूपमा पुगेको सामग्री भोलि व्यवस्थापनको समस्या बन्न सक्छ।
त्यसैले मेरो विचारमा अब राहतको चरण लगभग पूरा हुँदै गएको छ। अब स्वयंसेवक युवाहरूलाई सुरक्षा निकायसँग समन्वय गरेर प्रभावित क्षेत्रमा परिचालन गर्नुपर्छ। सरसफाइ, अस्थायी संरचना निर्माण र तत्काल आवश्यक पर्ने काममा उनीहरूको शक्ति प्रयोग गर्नुपर्छ।
हामीसँग युवाशक्ति छ। देशभरबाट सहयोग गर्ने इच्छा छ। राज्यसँग स्रोत र संरचना छ। स्थानीय तहसँग भूगोल र आवश्यकता बुझ्ने क्षमता छ। यी सबैलाई एउटै ठाउँमा जोड्न सकियो भने विपत्तिपछि उठ्न धेरै सजिलो हुन्छ।
अब हामीले रसुवालाई राहतको सूचीमा होइन, पुनर्निर्माणको योजनामा राख्नुपर्छ।
बाढीले बगाएको बाटो बनाउनु छ। भत्किएको पुल उठाउनु छ। उजाडिएको बस्ती बसाउनु छ। बन्द भएको विद्यालय खोल्नु छ। स्वास्थ्य चौकी पुनः सञ्चालन गर्नु छ। घर गुमाएका परिवारलाई फेरि आफ्नै घरमा फर्काउनु छ।
रसुवा पुगेर फर्किंदै गर्दा मेरो मनमा एउटा कुरा मात्रै घुमिरह्यो। राहतले मानिसलाई केही दिन बचाउँछ, पुनर्निर्माणले उसको भविष्य बचाउँछ। अब हाम्रो सहयोगको केन्द्र पनि त्यतैतर्फ मोडिनुपर्छ।









