असोज ९ गतेदेखि देशका विभिन्न क्षेत्रमा लगातार वर्षा भइरहेको छ। वर्षासँगै पहिरो, बाढी र सडक भासिँदा विभिन्न राजमार्गको यातायात प्रभावित भएको छ।
कहीं सडक पूर्ण रूपमा बन्द छन्, कहीं एकतर्फी सञ्चालन भइरहेको छ भने कतिपय ठाउँमा जोखिम बढेपछि यातायात रोकिएको छ।
पृथ्वी राजमार्ग, नारायणगढ–मुग्लिन सडक, बीपी राजमार्ग, सिद्धार्थ राजमार्ग, कान्ति लोकपथ र पासाङ ल्हामु राजमार्ग लगायतका सडकखण्डमा पहिरो तथा कटानले समस्या निम्त्याएको छ।
वर्षा अझै जारी रहेकाले पहाडी तथा नदी किनारका सडकमा यात्रा गर्दा थप सावधानी अपनाउनुपर्ने अवस्था छ।
प्रशासनले अत्यावश्यकबाहेक लामो दूरीको यात्रा नगर्न र सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न आग्रह गरेको छ।









