काठमाडौं , असोज ९ । प्रथम उपराष्ट्रपति परमानन्द झाले मैथिली भाषामा अनुवादित ‘सम्पूर्ण महाभारत’ ग्रन्थ मैथिली भाषाभाषीको घर–घरमा पुर्याउनुपर्ने बताउनुभएको छ । मैथिली गद्यमा अर्चना झाद्वारा अनुवादित ‘सम्पूर्ण महाभारत’ ग्रन्थको विमोचन कार्यक्रममा बोल्दै झाले महाभारत सनातन धर्मावलम्बीका लागि महत्वपूर्ण ग्रन्थ रहेको उल्लेख गर्दै यसको मैथिली भाषामा अनुवाद हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।उहाले महाभारतलाई ‘पाँचौँ वेद’का रूपमा समेत मानिने उल्लेख गर्दै यति कठिन र महत्वपूर्ण ग्रन्थलाई मैथिली भाषामा सरल र रोचक ढंगले अनुवाद गरेकोमा अनुवादक अर्चना झालाई धन्यवाद दिनुभयो ।झाले आफूले पुस्तकको सम्पूर्ण भाग पढ्न नसके पनि करिब चार सयदेखि साढे चार सय पृष्ठ अध्ययन गरेको र मैथिलीमा गरिएको अनुवाद निकै रोचक तथा सरल पाएको बताउनुभयो । महाभारतका गूढ विषयवस्तुलाई समेत अनुवादकले सहज भाषामा प्रस्तुत गरेको उहाको भनाइ थियो ।‘महाभारत कथा नै कथाले भरिएको रोचक पुस्तक हो,’ झाले भने, ‘यसलाई सबैले कम्तीमा एकपटक अवश्य पढ्नुपर्छ ।’
झाले मैथिली भाषामा अनुवादित महाभारत अन्य भाषाका संस्करणभन्दा कम रोचक नरहेको समेत बताउनुभयो । आफूले हिन्दी भाषामा रहेको महाभारतको टीका पढ्दा प्राप्त गरेको आनन्द मैथिली भाषामा अनुवादित महाभारत पढ्दा पनि प्राप्त भएको उहाले उल्लेख गर्नुभयो ।उहाले रामायणलाई नेपाली भाषामा अनुवाद गरेका आदिकवि भानुभक्त आचार्यले नेपाली साहित्यमा महत्वपूर्ण स्थान बनाएझैँ अर्चना झाले मैथिली भाषामा गरेको महाभारतको अनुवादले पनि भविष्यमा महत्वपूर्ण स्थान हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।मैथिली भाषाभाषीको घर–घरमा पुस्तक पुग्नुपर्ने बताउँदै झाले यसको अध्ययनले धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धिमा सहयोग पुग्ने धारणा राख्नुभयो ।झाले पुस्तक प्रकाशनमा अर्चना झाको परिवारले गरेको योगदानको पनि प्रशंसा गर्नुभयो । उहाका पति तथा छोराछोरीसहित परिवारका सदस्यहरूले पुस्तक प्रकाशनमा सहयोग गरेको भन्दै उनले सम्पूर्ण परिवारलाई धन्यवाद दिनुभयो ।कार्यक्रममा झाले अर्चना झाको उत्तरोत्तर प्रगतिको कामना गर्दै मैथिली भाषाको साहित्यिक क्षेत्रमा उहाको योगदानले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो ।









