सुर्खेत , असोज १०। लगातारको भारी वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाका सडक खण्ड अवरुद्ध भएका छन् । वर्षासँगै पहिरो तथा माटो खस्दा कर्णाली राजमार्ग, राप्ती राजमार्ग र अन्य सडकमा यातायात प्रभावित भएको हो ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका अनुसार कालिकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोलामा सडक अवरुद्ध भएको छ । कर्णाली राजमार्गअन्तर्गत तिलागुफा नगरपालिका–१ भिग्मामा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।जुम्लाको तातोपानी गाउँपालिकाअन्तर्गत पर्ने नाग्मा–जुम्ला सडक खण्डमा पनि यातायात अवरुद्ध भएको छ । उक्त सडक खण्ड कर्णाली राजमार्गअन्तर्गत पर्छ । यस्तै मुगुको छायानाथ रारा नगरपालिका–७ र ८ पिना क्षेत्रमा गमगढी–नाग्मा सडक खण्ड अवरुद्ध भएको छ ।
जाजरकोटको छेडागाड नगरपालिका–४ लेवाभीरमा भित्री सडक अवरुद्ध भएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–१ खच्चामा पनि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।यसै गरी सल्यानको कपुरकोट गाउँपालिका–३ र ४ स्थित अरिङ्गालेमा पहिरोका कारण राप्ती राजमार्ग अवरुद्ध भए पनि अहिले एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।भारी वर्षाका कारण सडक खण्डहरूमा पहिरो खस्ने क्रम जारी रहेकाले यातायात सञ्चालनमा समस्या भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक खण्ड खुलाउने तथा यातायात सञ्चालन सहज बनाउने प्रयास भइरहेको छ ।नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रमुख मुकुन्दप्रसाद रिजालले वर्षाका कारण कर्णालीका विभिन्न सडक खण्डमा यातायात प्रभावित भएको जानकारी दिए ।









