विराटनगर ,२७ असोज। कोशी प्रदेश सरकारको आयोजनामा आजदेखि विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ हुँदैछ । बिहान ९ः३० बजेबाट सुरु हुने सम्मेलनका लागि सबै प्रदेशका मुख्यमन्त्री विराटनगर पुगिसकेका छन् । सम्मेलन भोलिसम्म हुनेछ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्मेलनमा सातै प्रदेशका मुख्यमन्त्री, मुख्य न्यायाधिवक्ता, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष र प्रमुख सचिव सहभागी हुनेछन् ।
सम्मेलनमा प्रदेशहरूबीच अनुभव आदानप्रदान, अहिलेसम्म भएगरेका काम, उपलब्धि चुनौती, कमजोरीलगायतको विषयमा छलफल हुने कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले बताउनु भयो।
छलफलमा कानुन निर्माणका क्रममा देखिएका चुनौती, प्रदेशमा भएगरेका सफल अभ्यास अन्यत्र लागू गर्न मन्थन हुने बताइएको छ । दुई वा दुईभन्दा बढी प्रदेशका बीच सहकार्य समन्वय साथै विपद् व्यवस्थापनका विषयमा पनि छलफल गरिने कार्कीले जानकारी दिनुभयो ।
सङ्घीय शासन प्रणालीलाई थप प्रभावकारी बनाउनुका साथै प्रदेशहरूबीच सहकार्य, समन्वय र साझेदारी विस्तार गर्ने उद्देश्यले सम्मेलन गरिएको हो ।









