झापा ,१३ कार्तीक। जुवाजन्य गतिविधि नियन्त्रण गर्ने जिम्मेवारी पाएको सुरक्षा निकायका कर्मचारी नै विङ्गो (हाउजी) खेलमा सहभागी भएको पाइएपछि सशस्त्र प्रहरी बलले झापामा कार्यरत ४ जना सुरक्षाकर्मीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ। विङ्गो खेलमा प्रत्यक्ष संलग्न भएको आरोपमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) टिमाईका प्रमुख सशस्त्र प्रहरी नायब निरीक्षक (सई) चन्द्रबहादुर बेगासहित चार जनालाई जिल्ला कार्यालयमा तानिएको हो। गैरकानुनी गतिविधि रोक्नुपर्ने सुरक्षाकर्मी नै विवादित खेलमा संलग्न भएको प्रमाण सार्वजनिक भएपछि संगठनले आन्तरिक छानबिन थाल्दै विभागीय कारबाहीको दायरामा ल्याएको जनाएको छ।
झापाको बुद्धशान्ति गाउँपालिकाका दुई स्थानमा स्थानीय युवा क्लबहरूले गाउँपालिकाको अनुमति लिएर असोज ३० देखि हाउजी खेल सञ्चालन गरिरहेका थिए। बुद्धशान्ति–२ को जयपुर बजारमा नवज्योति युवा क्लब र वडा नं. ३ को बुधबारेमा आदर्श युवा क्लबले आगामी कात्तिक १५ गतेसम्मका लागि खेल चलाइरहेका थिए। गाउँपालिकाले प्रति क्लब २५ हजार रुपैयाँका दरले राजस्वसमेत संकलन गरेर अनुमति दिएको पाइएको छ।उता जिल्ला प्रशासन कार्यालय झापाले भने चाडबाडका नाममा हुने जुवाजन्य गतिविधि र हाउजी खेललाई पूर्ण रूपमा निषेध गर्ने नीति लिएको थियो। एकातिर जिल्ला प्रशासनले रोक लगाउने र अर्कोतिर स्थानीय तहले राजस्व लिएर अनुमति दिने कार्यले सरकारी निकायबीचको नीतिगत विरोधाभास र अधिकार क्षेत्रको टकराव उजागर गरेको छ।
प्रशासनको निर्देशनविपरीत सञ्चालित खेलस्थलमा सुरक्षाकर्मीकै उपस्थिति र संलग्नता बाहिरिएपछि चौतर्फी आलोचना भएको थियो। यसअघि इलाम सदरमुकाम र फिक्कल बजारमा सञ्चालन भइरहेको हाउजी खेललाई त्यहाँको स्थानीय प्रशासनले रोक लगाएको थियो भने झापामा भने सुरक्षाकर्मीकै संरक्षणजस्तो देखिने गरी खेल जारी थियो।यो विषय सार्वजनिक भएलगत्तै प्रशासनले कडाइ गरेपछि झापा र इलाम दुवै जिल्लामा सञ्चालित हाउजी खेल पूर्ण रूपमा बन्द गराइएको छ। कानुन कार्यान्वयन गर्ने निकायका अधिकारीहरू नै यस्ता गतिविधिमा मुछिएपछि सुरक्षाकर्मीको आचरण, प्रशासनिक समन्वय र निर्णय कार्यान्वयनको प्रभावकारितामाथि गम्भीर प्रश्न उब्जिएको छ। कारबाही प्रक्रिया अघि बढेका चारै जनामाथि थप अनुसन्धान जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।










