कमल , १९ कात्तिक । झापाको कमलमा स्कूल बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।हिजो विहिबार साँझ ६ : २० बजे कमल गाउँपालिका ३ शहीद गेटस्थित पूर्वपश्चिम राजमार्गमा झिलझिलेबाट केर्खातर्फ जाँदै गरेको दमक ९ स्थित सप्तश्री एकेडेमीको मे १ क ६३८नं.को स्कुल बसले बिपरीत दिशातर्फबाट आउँदै गरेको प्र.न.१–०१–०१८प.४८८३नं.को मोटरसाइकललाई ठक्कर दिएको थियो । सो मोटरसाइकल उछिट्टिएर दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र.न१–०१–००१ख३५५४नं.को ट्रकमा गई ठोक्किएको थियो ।
ट्रकको दाहिने साइडको चक्कामा परी दुर्घटना हुँदा मोटरसाइकल चालक इलाम नगरपालिका ८बस्ने बर्ष २७ का पन्चबहादुर लिम्बूको बायाँ हातको बुढी औँलामा चोट लागेको थियो भने सोही मोटरसाइकलमा पछाडी सवार सोही ठाउँ बस्ने बर्ष २१ की माङकुमारी लिम्बूको टाउकोमा चोट लागेको थियो । बोल्न नसक्ने गम्भीर अबस्थाकी माङकुमारीलाई तत्काल उपचारको लागि दमक अस्पताल दमकमा पठाएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरी चौकी केर्खाबाट टोली खटिएर बस चालक दमक ९बस्ने बर्ष ३५ का अतित लिम्बू, ट्रक चालक मेचीनगर १४बस्ने बर्ष ६०का गंगाबहादुर भुजेल र दुबै सवारी साधन नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमक पठाएको छ । घाइते मोटरसाइकल चालक लिम्बूलाई थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको प्रहरीले जनाएको छ ।










