जनकपुर ,३० कार्तीक। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले मेची महाकाली पदयात्रा सुरु गर्नु भएको छ ।जनकपुरधामको जानकी मन्दिरमा दर्शन गरेर उहाँले मेची महाकाली पदयात्राको सुरुवात गर्नु भएको छ ।सांसद सिंहलाई रास्वपाका सभापति रवि लामिछानेले राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गरेर पदयात्राका लागि शुभकामना दिनु भएको छ । सभापति लामिछानेले सांसद सिंहलाई पदयात्रा दल र राजनीति भन्दा माथि उठेर देशमा शान्ति तथा सदभाव र राष्ट्रिय एकताको सन्देश दिने गरी सम्पन्न गर्न शुभकामना दिनु भएको छ । सभापति लामिछानेले उक्त पदयात्राले सम्पूर्ण जाती, भाषा, संस्कृतिलाई एकै ठाउँमा जोड्ने सन्देश निस्किने किसिमले सांसद सिंहलाई सफलताको शुभकामना दिनु भएको छ ।
यता, सांसद सिंहले आजबाट सुरु गरेको पदयात्रा पहिलो चरणको मात्र भएको बताँउनु भयो ।उहाँले माघ एक गते यो पदयात्रा समाप्त हुने र त्यसपछि दोस्रो चरणमा आगामि बैशाखमा मध्य पहाडी लोकमार्ग पदयात्रा सुरु गर्ने जानकारी गराँउनु भयो । उहाँले यस पदयात्रामा दैनिक ५ घण्टा पैदल हिँड्ने र ७ घण्टा जनताको कुरा सुन्ने बताँउनु भयो । सांसद सिंहले यस पदयात्रामा हरेक जातजाती, समुदाय, वर्ग, भाषाभाषीको कुरा र सरकारसंगको अपेक्षा एवम गुनासो सुन्ने बताँउनु भयो । उहाँले जनताले भनेको सम्पूर्ण कुरा उल्लेख गरी सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने जनाँउनु भयो ।










