दमक, २५ भदौ । दमक नगरपालिका सहितका पालिकाहरुले बारम्बारको ताकेतामा पनि स्थानीय भूउपयोग क्षेत्र वर्गिकरण नक्सा तथा कित्ताकाट विवरण नपठाएको भन्दै मालपोत कार्यालय दमकले जग्गाको कित्ताकाट रोकेको छ ।
मंगलबार कार्यालयले सार्वजनिक सूचना जारी गर्दै मंगलबारबाट लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कित्ताकाट स्थगित गरिएको कार्यालयका प्रमुख नापी अधिकृत शत्रुघ्नप्रसाद यादवले जनाउनु भएको छ । साथै भू–उपयोग वर्गिकरण सम्बन्धमा अधुरो कार्य यथाशिघ्र सम्पन्न गरी कित्ताकाटमा सहजता ल्याई दिनु हुन सम्बन्धित स्थानिय निकायहरुलाई विशेष आग्रह पनि गरिएको छ । दमक कार्यालय अन्तर्गत दमक नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिका पर्दछन् ।
नेपाल राजपत्र भाग ३ खण्ड (७३) संख्या २४ मिति २०८० साउन ३२ मा प्रकाशित भू–उपयोग नियमावली २०८० (पहिलो संशोधन), २०८० को नियम १२ उपनियम (४ ख) बमोजिम भू–उपयोग क्षेत्र नक्सा तथा विवरण मध्ये कुनै एक भू–उपयोग क्षेत्र वा विवरण अद्यावधिक गर्न वाँकी रहेको भएता पनि वर्गीकरण भएको क्षेत्रमा यस नियमावलीको अधिनमा रही कित्ताकाट गर्न सकिने भन्ने उल्लेख छ । उल्लेखित उपनियम प्रारम्भ भएको मितिले १ वर्षभित्र त्यस्तो वर्गीकरण भएको क्षेत्रको भू–उपयोग क्षेत्र नक्सा तथा विवरण अद्यावधिक गरिसक्नु पर्ने उल्लेख भएकोमा यसअघि यस कार्यालयवाट दुई चोटी स्थानीय निकायहरुलाई ताकेता गरिसकिएको कार्यालयले उल्लेख गरेको छ ।
तर सम्वन्धित स्थानीय तहवाट भू–उपयोग क्षेत्र वर्गीकरण नक्सा तथा कित्तागत विवरण प्राप्त नभएकोले अर्को सूचना नभएसम्मका लागि कित्ताकाट स्थगित गरिएको जनाइएको छ ।









