दमक, १९ असोज / फरक लेखनशैलीका कारण प्रख्यात झापा बिर्तामोडका आख्यानकार कृष्ण बरालको पछिल्लो निवन्ध कृति ‘नाति पुस्ताको खेल’ को शनिबार दमकमा लोकार्पण गरिएको छ ।
श्रष्टा पब्लिकेशन दमकको आयोजना तथा झापाका अगुवा साहित्यकार केशव आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कृति लोकापणर् गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्मा, प्राज्ञ सुमित्रा बाङ्देल चेली, कवि प्रकाश बुढाथोकी, डा. बालचन्द्र सुब्बा, श्रष्टा पब्लिकेशनका याम थुलुङसहितले कृतिको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
लेखनको फरकशैलीका गहनतम् प्रस्तोता बरालले पद्मश्री पुरस्कार समेत प्राप्त गर्नुभएको छ । लेखनमा विभिन्न प्रयोग गर्न रुचाउने उहाँको यसअघि प्रकाशित ‘अरामायण’ मा लेखकको नामै राख्नु भएको थिएन । यी र यस्तै प्रयोग र उहाँको लेखनशैलीको पृथकता र प्रभावकारिताका बारेमा कृतिकार बरालसँगको प्यानल डिस्कसमा मिश्र बैजयन्ती, कुमार भट्टराई र प्रकाश थाम्सुहाङले उल्लेख गर्नुभयो ।
लीला लेखनमा आधारित रहेको कृतिमा नाति पुस्ताका नानीहरुदेखि युद्धसम्मको अवस्था उल्लेख गरिएको छ । बरालको यो सातौं कृति हो ।
कार्यक्रम श्रष्टा पब्लिकेशनका अध्यक्षसुन्दर कुरुपको अध्यक्षतामा सम्पन्न भयो ।









