धरान, कार्तिक ३ / धरानमा भएको लेखक साहित्यकार र पत्रकारहरुको भेलाले प्रगतिशील प्रगतिवादी लेखक, साहित्यकार पत्रकार, समालोचक, शिक्षक, इतिहासकार गमवहादुर लम्जेल (लम्जेल संघर्षशील) को स्मृतिमा ‘गमबहादुर लम्जेल संघर्षशील स्मृति प्रतिष्ठान’ समितिको गठन गरेको छ ।
निराजनवस्तीस्थित प्रबोध साप्ताहिक पत्रिका तथा गुफाथुम्की गर्जन त्रौमासिक साहित्यिक पत्रिकाको कार्यालयमा शुक्रबार भएको भेलाले लम्जेलकी धर्मपत्नी तथा पत्रकार/साहित्यकार जमुनादेवी श्रेष्ठलाई अध्यक्ष चुनेर प्रतिष्ठान गठन भएको हो । जसको उपाध्यक्षमा विजयकुमार अछामी, सचिवमा लोकराज निरौला, सहसचिवमा नरेश वि.क कोषाध्यक्षमा लीला प्रधान र सदस्यहरु गणेशकुमारी राई, नविन चर्मकार (रम्तेल), प्रमिला नेम्वाङ र कमला वि.क रहनु भएको छ ।
प्रा.डा. खेमराज खनाल, कुन्ता शर्मा, महेश श्रेष्ठ, रविमान लम्जेल, केशवकुमार सुनाम, पवन क्षितिज ‘निशान’ र पारसमणि लिम्बू सल्लाहकारको जिम्मेबारीमा चुनिनु भएको छ ।
भेलाले संस्था दर्ता गर्ने, लम्जेल संघर्षशीलको प्रथम स्मृति सभाको अवसरमा कार्तिक ६ गते विमल स्मृति पुस्तकालयमा लम्जेल संघर्षशीलको तेस्रो कृति ‘ऐतिहासिक श्रमिक वर्गको इतिहास’ पुस्तक विमोचन गर्ने निणर्य गरिएको छ । सो सभामा पुस्तकको परिचर्चा गर्ने र साहित्यिक रचना वाचन गरी स्मृतिसभा गरिने निणर्य भएको प्रतिष्ठान अध्यक्ष श्रेष्ठले जनाउनु भयो । साथै यस वर्षको लम्जेल संघर्षशील पत्रकारिता साहित्य प्रोत्साहन पुरस्कार व्लाष्ट टाइम्स दैनिककी स्नेहा श्रेष्ठलाई प्रदान गर्ने निणर्य समेत गरिएको छ ।
लम्जेलको मुटुको समस्या देखा परी २०७० चैत्र २३ गते सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसवारी काठमाडौंमा ओपन हार्ट सर्जरी पश्चात नियमित औषधी सेवनका क्रममा घाँटीमा न्युरोजेनिक क्यान्सरको समस्या देखा परेको थियो । इलाम देउमाईमा स्थायी घर भई धरान कर्मथलो बनाउनु भएका उहाँको ०८० कार्तिक ६ गते ३९ वर्षको उमेरमा धरानमा निधन भयो ।









