दमक, कार्तिक ११
दमकमा कार्तिक ६ गते जग्गाको विवाद मिलाउने नाममा बोलाएर हत्या गरिएका दमक ९ का देशु भनिने यामु निरौलाको शव अझैपनि अस्पतालमै रहेको छ । गत मंगलबार बेलुका जग्गाको विवाद भएपछि एउटा समुहले उहाँलाई ढुङ्गाले हानेर हत्या गरेको सीसी क्यामराको फुटेजमा देखिन्छ ।
निरौलाको त्यसरी हत्या भएपछि निरौलाका परिवार घटनामा संलग्न रहेको आशंका लागेकाहरुको विरुद्धमा जाहेरी दिन इलाका प्रहरी कार्यालय दमक पुग्छ । तर प्रहरीले उजुरुमा उल्लेख भएका नाम मध्ये दमक ८ का बुद्धिमान थापाको नाम र पुरक जाहेरीमा नमकुमार चेम्जोङको नाम रहेको र त्यो नाम कटाउन दवाव दिइएपछि घटनाले अहिले दमकको माहोल तताइरहेको मृतक पक्षको भनाई छ ।
तर अहिले थापा र चेम्जोङको विरुद्धमा समेत जाहेरी दर्ता भइसकेको छ । प्रहरीले यो समाचार तयार पार्दासम्म तीन जनालाई पक्राउ गरिसकेको छ भने घटनामा देखिएका दुईवटा गाडीपनि नियन्त्रणमा लिइसकेको छ ।
तर पीडित पक्ष भनें मुख्य अभियूक्त भनिएका थापा र चेम्जोङलाई पक्राउ गरी अनुसन्धानको दायरामा नल्याएसम्म शव नउठाउने भन्दै अड्डी कसेर बसिरहेको छ । साथै दमक ३ का राजु भनिने शेरबहादुर लिम्बू, इटहरी सुनसरी बस्ने डेविट घले समेत ७ जना विरुद्ध कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी गरिएको छ ।
सो घटनाको अनुसन्धानका क्रममा प्रहरीले ध्रुव गौतम र उर्लाबारी ६ का ४२ वर्षीय प्रकाश कार्की, दमक ३ का गणेश दर्जीलाई नियन्त्रणमा लिएको छ ।
पीडित पक्षलाई थप साथ र सर्मथन दिन भन्दै बुधबार र शनिबार इलाका प्रहरी कार्यालय अगाडि मानव अधिकारवादी, राजनीतिक दलका नेता तथा कार्यकर्ता, अन्य नागरिकले विरोध गरे । नारा जुलुस मात्रै भएर टायरसम्म बालेर प्रहरी प्रशासनको ध्यानाकर्षण गराइएको थियो ।
शनिबार स्थिती थेगिनसक्नुको भएपछि पीडित पक्ष सहित दमक नगरपालिकाका प्रमुख राम कुमार थापा, राजनीतिक दलका दमकका शिर्षस्त नेता तथा प्रतिनिधि एवं प्रहरी प्रशासनबीच छलफल भएको थियो । छलफलमा अनुसन्धान गर्न केही समय प्रहरीले माग गरेको थियो । सोमबार मध्यान्न १२ बजेसम्ममा अनुसन्धानबाट केही न केही जवाफ दिने भन्दै प्रहरीले पीडित पक्षलाई आश्वासन दिएको थियो ।
आन्दोलनमा उत्रिएको हजारौको जमातलाई सम्बोधन गदैै नगर प्रमुख थापाले सोमबार मध्यान्न १२ बजेसम्मका लागि पर्खिने र त्यो बेलासम्म पनि केही भएन भने फेरि आन्दोलनलाई अगाडि बढाउन आफूपनि सडकमा उत्रने भन्दै शनिबारको आक्रोशलाई केही मत्थर बनाउनु भएको थियो ।
दमक प्रहरीको मात्र विश्वास नलागेपछि यसबारेमा थप दवाव दिन पीडितसहित नगर प्रमुखको नेतृत्वमा आइतबार जिल्ला प्रशासन कार्र्यालयमा गएर जिल्लाको सुरक्षा समितीलाई घटनाबारेमा जानकारी समेत गराइएको छ ।
सो छलफलमा नगर प्रमुख थापाले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका उप निर्देशक कुलचन्द्र नेपाल र सशस्त्र प्रहरी बल झापाका एसपी कबिन्द्र राईलाई घटनाका बारेमा जानकारी गराउनु भएको थियो ।
सोही छलफलमा मृतकका काका सुजन र भाइसहितले घटनाले यस्तो रुप कसरी लियो र यसमा आएका समस्या र प्रहरीमाथीको अविश्वास बढ्नुका कारणहरुबारे प्रस्ट्याउनु भएको थियो ।
समस्या सुनिसकेपछि एसपी केसीले घटनामा जोसुकै भएपनि आरोपितहरुलाई पक्राउ गर्ने प्रतिवद्धता जनाउनु भयो । ‘घटनामा प्रत्यक्ष रुपमा नदेखिएका दोषीहरुलाई समेत पक्राउ गरेर धेरै घटनामा पीडितलाई न्याय दिन प्रहरी सफल भएको छ भने यहाँ त सीसी क्यामाराको फुटेजमै प्रष्ट छ र जाहेरीमा समेत नाम उल्लेख छ भने उनीहरुलाई पक्राउ गर्न, अनुसन्धान गर्न कुनै समस्या छैन । हामी पक्राउ गछौ र अनुसन्धानबाट पीडितलाई न्याय दिने छौ ।’ एसपी केसीले पीडित पक्षलाई धैर्य गर्न बताउँदै यस्तो प्रतिवद्धता जनाउनु भयो ।
सोही क्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाले घटना गम्भिर रहेको र यसमा कुनै राजनीतिक दवाव वा कसैको सिफारिस र अनुरोधमा समेत अनुसन्धान तलमाथी नगरी निष्पक्ष भएर काम गर्न निर्देशन दिनु भएको थियो ।
घटनालाई राजनीतिक नभई अपराधिक ढंगबाट अनुसन्धान गर्ने वातावरण बनाइदिन प्रहरीको तर्फबाट एसपी केसीले छलफलमा आएको टोलीसँग अनुरोध गर्नुभएको थियो ।
सो छलफलमै बस्नु भएका नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहनु भएका संविधानसभा सदस्य दिपक कार्कीले दोषीलाई कारबाही गर्दै पीडितलाई न्याय दिने काममा प्रहरी प्रशासनले काम गर्नुपर्ने उल्लेख गर्नु भयो ।
सो छलफलमा दमक वडा नं ९ का वडाध्यक्ष कुबेर भट्टराई, दमक नगरपालिकाका प्रशासन प्रमुख यज्ञराज निरौला सहित पीडित पक्षका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।









