बिर्तामोड, मंसिर ३
नेपालमा १४ हजार मेट्रिकटन सुपारी उत्पादन हुन्छ । यो मध्ये ११ हजार मेट्रिकटन झापामा मात्रै उत्पादन हुने गरेको सरकारी तथ्यांक छ । तर अहिलेसम्म जति पनि सुपारी उत्पादन हुने गरेको छ, यी सबै किसानहरुको एक्लो जर्वजस्त प्रयासबाट मात्रै भएको हो ।
सुपारी कसरी बढीमात्रामा उत्पादन गर्ने र के गर्यो भने गुणस्तीय उत्पादन हुन्छ भन्ने प्राविधिक ज्ञानको कमी भएको अवस्थामै पनि झापाका सुपारी किसानहरु यसको उत्पादनमा निरन्तर लागिरहेका छन् । त्यसैले झापामा सुपारी सम्बन्धीको अनुसन्धान गर्ने निकाय र यसलाई प्रशोधन गरेर विदेश निर्यात गर्ने हो भने त्यसबाट किसानले अझ राम्रो आर्थिक लाभ लिन सक्ने थिए भनेर झापामा सुपारी अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने तयारी भएको छ ।
यही सन्दर्भमा झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ५ मा सो परियोजना निर्माण गर्र्ने स्थलको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निरीक्षण गर्नु भएको छ ।
झापा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य समेत रहनु भएका सभामुख घिमिरेले यस ठाउँमा सुपारी अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्नकालागि आवश्यक पर्ने नीति, बजेट र अन्य प्राविधिक पक्षहरुको व्यवस्थापन गरेर झापामा सुपारी खेतीलाई थप व्यवसायिक बनाउने काममा आफू लागिरहेको बताउनु भयो ।
यो परियोजना सञ्चालन गर्न अहिले तोकिएको ठाउँ कत्तिको उपयूक्त छ भन्ने बारेमा आवश्यक प्राविधिक परीक्षण गर्न तरहरा कृषि अनुसन्धान केन्द्रबाट प्राविधिकहरु आइसकेका छन् । आवश्यक परेमा काठमाडौबाट अन्य प्राविधिक समेत बोलाएर यस ठाउँमा सुपारी अनुसन्धान र प्रशोधन केन्द्र स्थापना गर्ने काममा लागिपरिरहेको सभामुख घिमिरेले उल्लेख गर्नु भयो ।
विश्वमा सुपारीहरु २० प्रजातिका रहेका छन् । ती सबैको परीक्षण उत्पादन यहाँ हुने छ । यी मध्ये कुन कुन प्रजाति यस भूगोलका लागि उपयूक्त हुने र त्यसमा राज्यले थप लगानी गरेर विषेश कार्यक्रम बनाई प्रर्वधन गर्नेगरिको परियोजना रहेकोले यसले यहाँका किसानहरुलाई लाभ पुग्ने विश्वास गरिएको छ ।









