पथरी, मंसिर २९
कमला श्रेष्ठ ५ महिना अघिको महिला फुटबल लिगमा कणर्ालीबाट मैदानमा उत्रिदासम्म प्रतिष्पर्धीसंग लडिरहेकी हुन्थिन् । अहिले कमलाको दिनचर्या फेरिएको छ । उनी मैदानमा विपक्षी टोलीसंग नभइ क्यान्सर रोगसंग लडिरहेकी छन् ।
मोरङ सुनवर्सी १ की कमला अहिले उपचारका लागि भारत जाने तरखरमा छिन् । १ महिना अघि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सिस्टको शंका लागेर उपचार गर्न गएकी कमलालाई त्यहीँको परीक्षणबाट पाठेघरको क्यान्सर प्रमाणित भएको हो । आर्थिक अवस्था कमजोर भएकी उनको उपचारका लागि अहिले फुटबल खेलाडीदेखि शुभेच्छुकसम्मले आर्थिक सहयोग त गरेका छन् तर त्यो प्रयाप्त नभएको कमलाले सुनाइन् । ‘धेरै ठाउँ उपचारका लागि चाहारिसकियो, तर बल्ल रोग पत्ता लागेको छ उपचारका लागि खर्च छैन । खै कसरी जुटाउने समस्या भएको छ ।’ कमलाका बुबा जितबहादुरको पीडा छ ।
नेपाली राष्ट्रिय जर्सीमा मैदान उत्रिने सपना बोकेकी कमला अहिले उपचारका लागि भारत जाने तयारीमा छन् । जिल्लाको पथरीशनिश्चरे महिला फुटबल क्लबबाट फुुुटबल खेल्न सुरु गरेकी उनले पछिल्लो समय स्थानीय केचना महिला फुटबल टोलीको नेतृत्व गरिरहेकी थिइन । जिल्ला स्तरीय लिगदेखि राष्ट्रिय महिला लिगसम्ममा आफ्नो खेल कौशल प्रर्दशन गरिसकेकी उनलाई उनकै बुबाको प्रेरणाले फुटबलतर्फ आर्कषण बढेको हो । उनका बुवा समेत फुटबल खेलाडी भएकाले उनलाई फुटबलको रस बिझ्नु सामान्य रहेको थियो ।
पथरी शनिश्चरेको महिला लिगसम्ममा आफ्नो खेल कौशल प्रर्दशन गरिसकेकी उनले स्थानीय बुद्ध माविको खेल मैदानबाट फुटबल खेल्न सिकेकी हुन् । उनले पछिल्लो वर्ष भारतका मैदानमा समेत उत्रिएकी थिइन ।
मेन डिफेन्सका रुपमा मैदानमा उत्रिने कमला अहिले भने क्यान्सरको उपचार गर्ने र फेरि मैदानमा उत्रिएर खेल प्रेमीको लागि उत्साह भर्ने सपना देख्न थालेकी छन् । उनको उपचारका लागि आर्थिक अभाव छ उपचार गर्न आवश्यक सहयोग गर्न स्थानीय सञ्चारकर्मी रामकुमार परियारको आग्रह छ ।









