दमक, पुस ९
हुम्लामा हिमपात भएको छ । सोमबार दिउँसो मौसम सफा रहे पनि गएरातिदेखि हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला सदरमुकाम सिमकोटमा हिमपात भएको जानकारी दिनुभयो ।
यहाँ दुई इञ्चसम्म हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ जमेको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको छ । चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या बनाएको छ । जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायतका गाउँमा हिमपातले जनजीवन प्रभावित बनाएको छ ।
हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न तथा संभावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन प्रमुख जिल्ला अधिकारी पाण्डेयको आग्रहको छ ।
यस्तै हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ ।
आज दिउसो कोशी, गण्डकी, लुम्बिनी,कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू तथा बागमती र मधेस प्रदेशको एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।









