दमक, पुस १९
झापाको दमकमा रहेर पूर्वमै रंगमञ्च क्षेत्रमा क्रियाशील कदर थिएटरमा आउँदो माघ ५ र ६ गते हुने ‘काठमाडौं इन्टरनेशनल फिल्म फेस्टिभल’ (किम्फ) मा ‘सिनेमामा संघीयता’ लगायतका विषयमा अन्तरक्रिया समेत हुने भएको छ ।
शुक्रबार कदम थिएटरले फेस्टिभलका बारेमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । कार्यक्रममा थिएटरका अध्यक्ष एवम् प्रसिद्ध चलचित्र कलाकार हेमन्त बुढाथोकीले घुम्ती महोत्सवका रुपमा चलचित्र प्रदर्शनसहितका कार्यक्रमका बारेमा जानकारी गराउनु भयो । उहाँले सो महोत्सवले पूर्वकै कलासाहित्यको उन्नयनमा एउटा इँटा थप्ने विश्वास लिएको उल्लेख गर्नुभयो ।
यहि पुस २८ गतेबाट कदम थिएटर आफ्नो ८ वर्ष पुरा गरेर नवौ वर्ष प्रवेशको यात्रा तय गर्दैगर्दा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आयोजना गर्ने अवसर पाएकोमा कला निर्देशक सिजन दाहालले खुसी व्यक्त गर्नुभएको छ । उहाँले ‘सिनेमामा संघीयता’ सहित २ दिनमा २ वटा प्यानल डिस्कसन हुने जानकारी गराउनु भयो । अर्कातर्फ कला र सन्देशपक्षले भरिपूर्ण नेपालीसहित विदेशी चलचित्रहरु हेर्न र त्यसबाट सिक्न पाउँनु मोफसलका लागि ठूलो अवसर भएको बताउनु भएको छ ।
फेस्टिभलमा साँस्कृतिक प्रदर्शनीसहित ११ वटा ठूला साना चलचित्र प्रदर्शन गरिनेछन् । महोत्सवमा पहिलो दिन स्थानीय तहमा दलितको प्रतिनिधित्वको अनुभव बारेमा अन्तरक्रिया हुनेछ । चलचित्र प्रदर्शनका हिसाबले सो दिन नान्सीको निर्देशनको ‘पासाङ इन द स्याडो अफ एभरेष्ट’, अनिल कुर्मीको निर्देशनको ‘फेरा’, विज्ञान सापकोटाको निर्देशनको ‘गणेश एलिफस मेक्सिमम’, विकास न्यौपानेको ‘लक्ष्मनीया’, प्रान्नि लिम्बू निर्देशित ‘उर्मी’ प्रदर्शन हुनेछ । त्यस्तै, दोस्रो दिन सिनेमामा संघीयता विषयमा अन्तरक्रियाका साथै आकांक्षा कार्कीले निर्देशन गरेको ‘सनही’, सरला थापा निर्देशित ‘ब्रिटेनका एक्का गोर्खाहरु’, सफल पाण्डे निर्देशित ‘अर्केष्टा’, किरण श्रेष्ठको ‘एट अनोदर विन्टर’, ऐश्वर्य बैदारको ‘ह्वेयर वाटर हाइसेन्थ ग्रो’ र एलेन जिस्पोनरको ‘हाइडी’ प्रस्तुत हुने कार्यतालिका रहेको छ ।









