दमक, पुष २७
तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती शनिबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।
यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाइँदैछ। उहाँको वि.सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो।
विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा हुनु भएको थियो। त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल बन्नु भएको थियो ।
पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ। र आजैका दिनलाई राष्ट्रिय एकता दिवसका रुपमा समेत मनाउने गरिन्छ ।
पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाडौं उपत्यका विजय हासिल गगरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना विस्तार गर्ने काम गर्नु भएको थियो ।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायण शाहको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३ औँ जन्मजयन्ती मनाइँदैछ।









