कथा

भेडो जनता

‘ठूल्दिदी ! आज सँगै हटिया जान पर्छ है ।’ छिमेकी कान्छीले धोको फुकाएर बोली । उता ठूल्दिदी करेसाबारीमा सागसब्जी यसपटक फल्दै फलेन बरु मकै छर्नु पर्‍यो भन्दै कोदालो खन्दै थिइन् ।
कान्छीका कुरा सुनेर ‘हटिया नगएर के गर्छेस् बारीमा लगाएको यत्रो सागपातको आश गर्नै परेन, खोइ ! मेरो हात नै रुखो हो कि यो चिहान रुखो हो बेकारमा मल र बीउ खेर गयो’ भन्दै बरबराउन लागिन् ।
‘के मरिहत्ते गर्नुहुन्छ हौ ठूल्दिदी छोरा दुई दुई भाइ विदेश छन् । महिनापिच्छे बैंकमा पोइसा जम्मा हुन्छ, ब्याज निकाल्दै खाँदै गर्नु नि तीन जनाको जहानलाई कति नै खर्च हुन्छ ?’ कान्छीले फेरि उक्साउँदै बोली ।
‘खान त खाएकै छ नि । तर बजारको सागसब्जी घरमा फले जस्तो कहाँ हुन्छ र ?’ ठूल्दिदीले निराश हुँदै कोदालो बिसाइन् ।
‘हो नि ठूल्दिदी, नेताहरूले कृषि क्रान्ति गर्छौँ भन्थे खोइ, फेरि चुनाव आयो अहिलेसम्म क्रान्ति त भोट माग्ने बहाना पो रहेछ । साँच्चै तपाईंसित भोट माग्न कुन कुन नेता आए ?’ कान्छीले राजनीतितर्फ कुरो घुमाएर लगी ।
‘आ कान्छी, म त जो जो आए पनि मेरो पार्टी भन्दा अरूलाई भोट दिन्नँ । पार्टीले चुनेर पठाएको उमेदवार जो सुकै होस् आँखा चिम्लेर भोट हालिन्छ ।’ ठूल्दिदीले कुराको बिट मारिन् ।

 

दिउँसो ठूल्दिदी र कान्छी हटियातर्फ तरकारी किन्न बाटो लागे । आफूलाई चाहिने तरकारी किन्न उनीहरू बाँडिए । कान्छीले तरकारी किनिसकेर ठूल्दिदी भएतिर आइपुगी ।
‘ठूल्दिदी खोइ त ! अझै तरकारीको भारी पुगेन ?’ कान्छीले प्वाक्क बोली ।
‘खोइ, हेर न कान्छी भनेजस्तो सब्जी नै छैन यो साग पनि कुनै पहेँलो छ कुनै कीरा लागेको छिप्पिएको छ । यस्तो लगेर कसरी खानु ?’ ठूल्दिदी सब्जी छान्दै छान्दै हटिया सबै घुमिसकेकी रहिछन् ।

 

एक मुठो साग किन्न यति धेरै पसल चाहर्ने ठूल्दिदीले भोट चाहिँ आफ्नो पार्टीको जो उठ्छ त्यसैलाई दिन्छु भनेको कुरा कान्छीले सम्झी । अनि सोच्न थाली ‘वास्तवमा ठूल्दिदीले यो सागको मुठो छानेजस्तै असल व्यक्ति छानेर जिताइएको भए आज नेपालको स्थिति कति सुन्दर र विकसित हुनेथियो ? गणेशमान सिंहले ‘जनता भेडा हुन्‌’ भनेको त्यसै होइन रहेछ । वास्तवमा नेता होइन जनता गलत रहेछौँ’ भन्ने सोच्तै घरतर्फ एक्लै बाटो लागी ।
सुन्दरहरैंचा, मोरङ

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बाढीपीडितका लागि दमकमा श्रीकृष्ण रथयात्रा, भेटी राहत कोषमा जम्मा गरिने

दमक । १६ भदौ |  रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि दमकमा आयोजना हुने श्रीकृष्ण रथयात्रामा संकलन हुने दान–भेटी राहतका लागि

एआईको बढ्दो प्रयोगसँगै साइबर सुरक्षामा चनाखो बन्न आग्रह

काठमाडौं , भदौ १६ । नेपालको डिजिटल अर्थतन्त्रमा साइबर सुरक्षा र आर्टिफिसियल इन्टेलिजेन्स(एआइ)को भूमिका प्रमुख बन्दै गएकाले सचेत बन्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।मंगलबार नेपाल–भारत

राहत कोषमा इप्पानको १३ करोड १ रुपैयाँ सहयोग, १२ जलविद्युत् आयोजनामा क्षति

काठमाडौं , भदौ १६ । भोटकोशी नदीमा आएको महाविपत्तिका कारण हालसम्म आठवटा सञ्चालनमा रहेका र चारवटा निर्माणाधीन गरी १२ वटा विद्युत आयोजनाका संरचना ध्वस्त भएका

भोटेकोशी प्रलयअघि नै थियो चेतावनी, किन दराजमै थन्कियो प्रतिवेदन?

काठमाडौं , १६ भदौ। २४ असार २०८२ बिहान ३ बजे रसुवास्थित नेपाल-चीन अन्तर्राष्ट्रिय नाका हुँदै बग्ने भोटेकोशी नदी (चीनतर्फको ल्हेन्दे खोला) मा अकस्मात बाढी आयो

सडक–पुलमा ३० अर्बको क्षति, पुनर्निर्माणमा ५० अर्बभन्दा बढी लाग्ने

काठमाडौं , १६ भदौ । भोटेकोशी–त्रिशूली बाढीले सडक तथा पुलमा मात्र ३० अर्ब रुपैयाँ बराबरका संरचना क्षति भएको पाइएको छ ।सडक विभागका महानिर्देशक डा. विजय