दमक, माघ २८
मानिसको जनसंख्या बढ्दै बढ्दै जाँदा साविकका जंगल क्षेत्र साँघुरिने मात्र होइन नासिने अवस्थामा पुगेको छ । जंगली जिवजन्तु आफ्नो बासस्थान र आहारा मासिएपछि बिलखवन्दमा पर्दै आएका छन् ।
सबैभन्दा खतरनाक जिव बाघको संख्या झापा र मोरङका जंगलमा छैन नै । भएका केही निगाले चितुवा समेत लोपै भइसकेजस्तोे अवस्था छ । अब त्यसपछिको खतरनाक र जंगलको सबैभन्दा ठूलो जीव हात्ती र मानवबीचको टकराव जीवजन्तु र मानवबीचको प्रमुख समस्या अर्थात द्वन्दका रुपमा देखिएको छ । अर्थात जंगलको हात्ती गाउँमा मात्रै नभएर घनाबस्तीको सहरमै पस्न थालेपछि मानिसहरुमा त्रास बढ्दो छ ।
यसक्रममा आइतबार झापाको बेलडाँगीतर्फबाट दिउँसै निस्किएका २ वटा हात्ती मध्यरातमा दमक चोक कटेर दक्षिणको एभरेष्ट बोर्डिङसँग जोडिएको डाइनामिक पब्लिक लाइब्रेरीको कोठा भत्काएर क्षति पुर्यायो । दक्षिणतर्फको कोठाको एकापट्टिको गारो भत्काएर हात्ती घरैभित्र छिर्न खोजेपछि ह्विलचियर प्रयोगकर्ता लाइब्रेरीका संस्थापक अध्यक्ष भेषराज न्यौपानेलाई आपत आइलाग्यो । धन्न एकछिनमा हात्ती बारीतर्फ फूलकोभी खाँदे केराका बोट ढाल्न थालेपछि न्यौपाने र उहाँको परिवार सुरक्षित बन्न पायो । उहाँले भन्नुभयो ‘हात्ती सहर पस्न थालेको अवस्थामा यसलाई व्यवस्थापन गर्न विशेष गरी सरकारले प्रभावकारीरुपमा दीर्घकालिन योजना बनाएर अघि बढ्नु पर्नेछ । उसको विचरण क्षेत्रमा आहाराको व्यवस्थापनमा ध्यान दिनु पर्यो ।’
हात्तीलाई स्थानीयले आगोको पुल्ठो बालेर तर्साउने मात्र होइन, आगोले नै हान्ने र पोलिदिने गरेपछि हात्ती प्रतिकारस्वरुप झन विध्वंशमा उत्रिएको देखिन्छ ।
हात्ती आफ्नो बासस्थान मात्र होइन आहारा नष्ट भएपछि गाउँ बस्तीमा पसेर भोक मेट्ने गर्दै आएको छ । यसकासाथै पहिले जंगल रहेको अवस्थामा आफूले हिँड्दै आएको बाटो बस्ती बनेपनि उसले त्यही बाटो पहिल्याउने गरेकाले पनि समस्या बढेकोे छ ।
हुनत हात्ती र मावनबीचकोे द्वन्द कम गर्न अर्थात हात्तीलाई अलि बढी नियन्त्रणका प्रयासहरु निकै भए । हात्ती प्रवेशका नाकामा तारबारमा विजुली जडान गर्ने, हात्ती भगाउने विभिन्न यन्त्र प्रयोग गर्ने गरिएपनि हात्तीले त्यसको सामना गर्ने उपाय खोलेर आफ्नो अवरोध हटाउँदै आइरहेको छ । भारतमा ठूला जंगलबाट मुख्यरुपमा झापाको बाहुनडाँगीहुँदै भित्रिने हात्तीले झापा, मोरङ र सुनसरी क्षेत्रसम्म पुगेर जनधनको क्षति पुर्याउँदै आएको छ ।
कोशी प्रदेशका तात्कालिन मुख्यमन्त्री केदार कार्कीको पालामा सरकारले हात्ती र मानव द्वन्द कम गर्न हात्तीको प्राकृतिक बाटो व्यवस्थापन तथा अहाराका लागि त्यस क्षेत्रमा बोटविरुवा रोप्ने योजनामा हात्ती असरग्रस्त क्षेत्रको अवलोकन भ्रमण भयो । तर त्यसपछि ठोस कार्यक्रम खास आउन सकेको छैन । जिल्ला वन कार्यालय झापाले हात्तीकालागि केही विरुवा रोपेपनि आहारा हुने अवस्था देखिदैन ।
हात्ती दमकको व्यस्त बजार क्षेत्रमा पसेर घर भत्काउन थालेको सन्दर्भमा र मानवको द्वन्द व्यवस्थापनमा पालिका सरकारको केही योजना छ कि भनेर हामीले दमक नगरका प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष धर्मप्रसाद दाहाल दीपेशलाई सोधेका छौं । उहाँ भन्नुहुन्छ ‘ बेलडाँगीमा दैनिकजसो हात्ती आएर त्रास सिर्जना गरिरहेको छ । यसमा नगरपालिकाको ध्यानाकर्षण भइरहेपनि नियन्त्रणकालागि प्रदेश र संघीय सरकारले कार्यनीति बनाएर अघि बढ्नु आवश्यक छ ।’ उहाँले हात्तीलाई नतर्साइ उसलाई असर नपुर्याउने खाले जनचेतना प्रवाह गर्नु पनि आवश्यक रहेको धारणा राख्नु भयो ।
झापामा गत आर्थिक वर्षमा हात्तीको आक्रमणबाट ९ जनाको मृत्यु भएको थियो । डिभिजन वन कार्यालयका अनुसार करिब १३ वर्षमा झापामा हात्तीको आक्रमणबाट ७२ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै दुई दशकमा २१ हात्ती मारिएका छन् ।









