इलाम, फागुन १४
इलाम नगरपालिका ४ जस्विरेस्थित विश्वास सुब्बाले संचालन गर्दै आएको जस्विरे चिया फ्याक्ट्रीमा भएको आगलागीबाट करिब ७ करोडको क्षति भएको छ ।
गएराति ९ बजे भएको आगलागीबाट फ्याक्ट्रीको सम्पूर्ण मेशिन, स्टोर रुम, तयारी चिया, कम्प्युटर, कागजपत्र र अन्य सरसामान जलेर नष्ट भएको हो । आगो बिहानको राति २ बजे नियन्त्रणमा आएको थियो ।
त्यहाँ आगलागी भएपछि जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइराला, सशस्त्र प्रहरी बल नेपाल नम्बर १ गण हेक्वा श्रीअन्तुबाट सशस्त्र प्रहरी नायव निरीक्षक सुरेन्द्र ठाकुरको कमाण्डको प्रहरी टोलीका साथै इलाम र देउमाई नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी मानबहादुर राईले आगलागीबाट भएको क्षतिको यकिन विवरण निकाल्ने कार्य भइरहेको बताउँदै अनुमानित ७ करोडको क्षति भएको प्रारम्भिक जानकारी दिनुभयो ।









