दमक, फागुन १४
निःशुल्क तालिमहरु प्रभावकारी हुँदैनन् र त्यसमा आउने बजेट बालुवामा पानी हालेजस्तो नै हो भनेर आलोचना खेपिरहँदा यातायातको साधन चालक सम्बन्धीको तालिम भने प्रभावकारी भएको पाइएको छ ।
दमक नगरपालिका वडा नम्बर ३ ले ३ लाख रुपैंयाँ बजेट छुट्याएर ३५ जना युवाहरुलाई निःशुल्क ड्राईभिङको तालिम दिएको थियो । यसमध्ये २५ जना भन्दा बढीले लाइसेन्सनै बनाइसेका छन् । दमक ४ मा रहेको दमक ड्राइभिङ सेन्टर तथा पाथीभरा कुलिनरी आर्टमा एक महिनासम्म ड्राइभिङ सिकेकाहरुले लाइसेन्स पाइसकेको र बनाउन बाँकी रहेकाहरुलाई थप सिकाएर लाइसेन्स बनाउने प्रक्रियामा सहभागी गराइने प्रशिक्षक धनबहादुर लिम्बूले जानकारी दिनुभयो ।
तालिममा सहभागी भएकाहरुले वडा कार्यालयको सहयोगमा निःशुल्क ड्राइभिङ सिक्न पाएकोमा दङ्ग छन् । हातमा लाइसेन्स प्राप्त गरेको पुर्जी समेत देखाउँदै दमक ३ का विनोद कार्की र एलिसा भण्डारीको एउटै जस्तो आवाज छ ‘अझै सीपसँग जोडिएका तालिमहरुमा वडाले युवाहरुलाई सहभागी गराउन सकोस् ।’
सीपले जीवन यापनमा सहज बनाउँछ । चाहे त्यो देशभित्र होस् वा परदेशमा नै । हातमा सीप भयो भनें काम र दाममा मोलमोलाई गर्न पाइन्छ । त्यसैले वडामा रहेका युवाहरुलाई सीपसँग जोड्न यसखाले तालिमहरु सञ्चालन गरेको वडाध्यक्ष नवीन बरालले जनाउनु भयो ।
निःशुल्क भनेर आउने तालिमको सहि सदुपयोग गर्ने हो भने खर्च बिना नै हातमा सीप हुन्छ । जसले जीवनभर खान दिन सक्छ । त्यसैले यस्ता तालिमको सहि सदुपयोग गर्न सकौं ।









