दमक, फागुन २५
यी अनुहारहरु अबोध छन् । उनीहरुमा कसैप्रति कुनै पूर्वाग्रह छैन । उनीहरुलाई एउटै मात्र कुराको चिन्ता छ, त्यो हो बिहान बेलुका समयमा खान पाउँ, रातमा आरामले न्यानो भएर सुत्न पाउँ । दुख बिराम हुदा औषधी सेवन गर्न पाउँ ।
विभिन्न कारणले सडकमा आइपुगेका यी अनुहारहरु अहिले सुरक्षित ठाउँमा आएर आश्रय लिन पाएका छन् । उनीहरुलाई खान, बस्न, बिरामी हुँदा औषधी उपचार गर्न र परिवारको सम्पर्क भएमा र परिवारले लैजान्छु भनेको खण्डमा मन मिल्यो भने पारिवारिक मिलन समेत गराइदिने गरिको काम दमकमा भइरहेको छ ।
यो ठाउँ हो दमक २ स्थित असहाय मानव सेवा आश्रम । यहाँ अहिले ३५ जना ज्येष्ठ नागरिक तथा बालबालिकाहरु पनि आश्रय लिएर बसिरहेका छन् ।
सडकमा अलपत्र मानिसहरुलाई उठाएर ल्याउने र उहाँहरुको खान, बस्न र बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्ने महान अभियान दमकमा चल्न थालेको एक वर्ष भयो । तर अहिले यो कसैको राजनीति गर्ने थलो बनेको भन्दै विरोध आउन थालेका छन् । यद्यपि मानवीय सेवा र भाव राखेर बिभिन्न व्यक्ति तथा समूहरुले भने यहाँ निरन्तर सहयोग गर्दै आएका छन् ।
यही क्रममा आइतबार गौरादह ९ निवासी किरण अधिकारी जन्मदिन मनाउन यस आश्रममा पुग्नु भये । उहाँले शुद्ध खानेपानीकालागि एउटा वाटर प्यूरीफाई मेसिन जडान गरिदिनुका साथै एकछाक भएपनि मिठो भोजन गराउनु भयो । मानवीय सेवा र भावले ओतप्रोत अधिकारी शैक्षिक अभियन्ता हुनुहुन्छ । उहाँले यस्तो ठाउँमा आफ्नो गच्छे अनुसार गरेको सेवालाई निरन्तरता दिने पनि बताउनु भयो ।
सो अवसरमा बोल्दै दमक नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष प्रजापति सापकोटाले पनि यो आश्रमको बासोबास अवस्था र सुरक्षा तथा स्वास्थ्यको स्थिती अझ राम्रो व्यवस्थित बनाउन आफ्नो तहबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
यस्तै यहाँ शनिबार पनि बिभिन्न सामाजिक सघं सस्थाहरुले सहयोग गरेका छन् । दमकमा सक्रिय रहेको यूवाहरुको सानो प्रयास यूवा समुहले ५० हजार रुपैया बराबरको खाद्यान्न वितण गरेको छ भने अन्तराष्ट्रिय नारी दिवसको अवसर पारेर शनिबार नै मेची महाकाली बुहारी संयूक्त आवाज दमक उपशाखाले त्यहाँ आश्रित ज्येष्ठ नागरिकहरुलाई सम्मानका साथै दिवा खाजा समेत खुवाउने कार्यक्रम गरेको छ ।
यसरी निरन्तर रुपमा सहयोगी मनहरुको सहयोग जुटे पनि यसलाई टेकेर केही पक्षले आन्तरिक रुपमा आफ्नो राजनीतिक स्वार्थ पुरा गर्न लागेको देखिएपछि यहाँको व्यवस्थापन समिति र सञ्चालक समिति बिच दूरी बढेको छ । यसको मुख्य सञ्चालन भक्तपुरस्थित मानव उद्धार सेवा हो र त्यसैको शाखा स्वरुप दमकमा सञ्चालनमा आएको भएपनि यहाँ बेग्लै समिति खडा गरिएको छ । यसरी केन्द्र र स्थानीय समिति बिच अहिले दूरी बढेपछि यसको सञ्चालन कसरी गर्ने भन्ने समेत अन्यौल बढेको छ ।










