पथरी, फागुन २६
लोपोन्मुख नेपाली मौलिक नाच संगिनी जोगाउने अभिभारा यी बालबालिकाहरुको समेत काँधमा आएको छ । अर्थात उनीहरुले समेत जिजुआमा, हजुरआमा र आमा पुस्ताबाट संगिनी सिकेर सार्वजनिक कार्यक्रममा यसरी प्रस्तुत गरिरहँदा संगिनीलाई पुस्ताहस्तान्तरण गरी यसलाई जोगाउन जागेको जाँगर बुझ्न सकिन्थ्यो ।
उत्तरपूर्वी मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा पहिलो पटक भएको संगिनी महोत्सवमा प्रस्तुत भएको बालिकाको सगिनीको झलक हो यो ।
पथरी शनिश्चरे नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा वडा नम्बर ३ को महिला जागरुक हरिकीर्तन तथा सङ्गिनी समूहले शनिबार प्रथम संगिनी महोत्सव सम्पन्न गरेर बालिकाहरुलाई समेत संगिनी जोगाउन अभिप्रेरित गर्ने काम गर्यो । जसमा नगरपालिकाले पनि यसखाले लोपोन्मुख मौलिकता जोगाउने विषयमा ध्यान दिँदै आएको नगर प्रवक्ता नवीन कार्कीले बताउनु भयो ।
शुभकामना मन्तव्य व्यक्त गर्दै ३ नम्बर वडाध्यक्ष विजय लिम्बूले पनि संगिनी जोगाउन जुट्नु सह्रानीय काम भएको भन्दै संगिनीसहितका लोपोन्मुख संस्कृति संरक्षणमा जुट्नुपर्ने कुरामा जोड दिनु भयो ।
संगिनी संरक्षण र पुस्ताहस्तान्तरणको हुटहुटीमा विगत ५ वर्षदेखि पथरी शनिश्चरे ३ शान्ति टोलका महिला समुदाय प्रशिक्षण कार्यक्रम नै सञ्चालन गरेर लागिपरेका छन् । संगिनीको संरक्षण तथा पुस्ताहस्तान्तरणको अवधारणामा अघि बढेको संस्थाको यो कार्यक्रम नेपालकै सम्भवत पहिलो संगिनी महोेत्सव भएको संस्थाका सल्लाहकार अर्जुन काफ्लेले कार्यक्रमको औचित्य प्रष्ट्याउने क्रममा उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘लोप हुन लागेको संगिनी जोगाएर युवा पुस्तालाई हस्तान्तरण गर्ने हुटहुटी संस्थाको हो ।’
नगरको वडा नम्बर १, ३ र ८ का गरी ५ वटा समूहले महोत्सवमा संगिनी प्रस्तुत गरेका छन् । बालिका, युवा र बृद्ध अवस्थाका महिलाहरुले अलग अलग समूहमा मौलिक भेषभुषामा सजिएर संगिनी प्रस्तुत गर्दा निकै रमाइलो र जागरुक वातावरण बनेको थियो । त्यहाँ त खाजा समेत मौलिक थियो । खाजा थियो भुटेको मकै, उसिनेको आलु र साँधेको गुन्दु्रक । ‘संगिनी जोगाउने कामसँगै यस्ता मौलिक खाजाको व्यवस्था गर्नु अति राम्रो लाग्यो ।’– वडा नम्बर १ को शान्ति किर्तन मण्डलीबाट संगिनी प्रस्तुत गर्नुहुने लक्ष्मी खनाल अधिकारी र तारा थापाको प्रतिक्रिया छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पथरी शनिश्चरे नगर उपप्रमुख देवीमाया काफ्लेले आफू सानोे हुँदा आमा, हजूरआमाले खेलेको देखेको संगिनी अहिले लोप हुन लागेकोमा जागरुक महिलाले त्यसलाई जगाएकोप्रति खुसी व्यक्त गर्नुभयो ।
संगिनी बारे बहस उठानका रुपमा उज्यालो खबरका सम्पादक एवम् सर्जक भूपेन्द्रराज तिम्सिनाले ‘संगिनीको परम्परा र यसको सांस्कृतिक जागरणमा पथरी शनिश्चरे’ शिर्षकमा अवधारणापत्र प्रस्तुत गर्नुभयो । उहाँले तेह्रथुम, भोजपुरतिरबाट सुरु भएको संगिनीको ऐतिहासिक पक्षकासाथै यसको सामाजिक, सांस्कृतिक महत्वका बारेमा प्रष्ट्याउनु भयो । साथै उहाँले सरकारी र गैरसरकारी पक्षको समन्वयबाट संगिनीलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने अवधारणा अघि सार्नुभयो ।
कार्यक्रममा ४ नम्बर वडाध्यक्ष लोकनाथ न्यौपाने, निविशेषानन्द अध्ययन प्रतिष्ठानका संरक्षक स्वामी निविशेषानन्द, नगरको युवा, शिक्षा तथा खेलकुद शाखा प्रमुख नवीन खुलाल बुढाथोकी, स्थानीय संस्कृतिकर्मी भूवनेश्वर पोखरेल, जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै संगिनी प्रवद्र्धनको कामप्रति प्रशंसा गर्नुभयो ।
२०६२ माघ १८ गते भजन किर्तन गर्न धार्मिक कार्यमा सघाउन रेणुकादेवी काफ्ले अध्यक्ष रहेर स्थापना भएको महिला जागरुक हरिकिर्तन समूह २०७६ बाट संङ्गिनी नाचको संरक्षणमा जुट्न थाल्यो । संगिनी संरक्षणमा आमा समूह, बुहारी समूह र छोरी समूह बनाएर सङ्गिनी खेल्ने मात्र होइन नजिकका विद्यालयमा गई विद्यार्थीलाई पनि संगिनीको महत्व बुझाउँदै समूह मौलिक संस्कृति संरक्षणको जाँगरिलो उदाहरण बनेको छ ।









