दमक, चैत ५
सहकारी संस्थामा हिनामिना भएर डुबेको रकम कसरी फिर्ता लिन सकिन्छ भन्ने चिन्ता वचतकर्तामा छ । सरकारले पनि रकम कसरी फिर्ता गराउने भन्ने विषयमा समिति बनाएर काम अघि बढाएको छ । यस सन्दर्भमा वचतकर्ताको अर्बौं रकम हिनामिनामा संलग्न मोरङको विराटनगरमा मुख्य कार्यालय रहेको तुलसी बहुमुखी सहकारी संस्थाको अचल सम्पत्ती र सामानहरुको अवस्था बुझ्न सरकारी टोलीले मंगलबार दमक शाखामा अवलोकन गरेको छ ।
तुलसी सहकारी वचत पीडित संघर्ष समितिका संयोजक तिलकप्रसाद पराजुलीले पीडितले निवेदन दिएर खबरदारीपछि वचतकर्ताको रकम फिर्ता गर्ने माध्यम खोजीकालागि सरकारी टोलीले अवलोकन गरेको जनाउनु भयो ।
दमक ९ मा रहेको सहकारी भवनमा २ वर्ष अघि सरकारको अघिल्लो समितिले लगाएको ताला खोलेर त्यहाँ भित्र रहेका सामग्री तथा भवनसहितको जग्गाको अवस्थाका बारेमा अवलोकन गरेको हो । ९ नम्बर वडाअध्यक्ष कुवेर भट्टराईको रोहबरमा दमक नगर प्रहरीसहितको टोली त्यहाँ पुगेको थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका संयोजक काँशीचन्द्र बरालको संयोजकत्वको ४ सदस्यीय टोलीले सम्पत्तीको लेखाजोखा र अध्ययन गरेको बोर्ड सदस्य काँशीचन्द्र बरालले जनाउनु भयो ।
वचतकर्ताको फिर्ता गर्नुपर्ने रकमको व्यवस्थापनकालागि चलअचल सम्पत्ती मूल्यांकन, वचतकर्ता र ऋणीहरु समायोजन, सञ्चालक र कर्मचारीको सम्पत्तीबाट असुल गर्नुपर्ने समितिले सुझाव दिएको बोर्ड सदस्य बरालले बताउनु भयो । उहाँले देशका २२ वटा सहकारीबाट ३९ अर्ब रकम फिर्ता हुनुपर्ने मागदाबी रहेकोमा ती सहकारीका ८,१० अर्ब बराबरको मात्र सम्पत्ती देखिएको समेत जानकारी गराउनु भयो ।
तुलसी सहकारीबाट ८ हजार शेयर सदस्यहरु पीडित बनेको उजुरीमा उल्लेख छ । दमक ९ मा रहेको जग्गा र भवन एकलौटी रुपमा लिलाम सकार्न नआउन नविल बैंकलाई चेतावनी दिइएको सूचनाको फ्लेक्स प्रिन्ट पीडित पक्षले कार्यालयमा टाँगेका छन् ।
दमकका सहकारी पीडितमध्येका योगेन्द्र चम्लागाईं खत्रीले समस्याग्रस्त अवस्थामा २ वर्ष अघिबाट कार्यालयमा तालाबन्दी गरिएको जनाउँदै सामानहरु नष्ट भएको अवस्थामा रहेको टिप्पणी गर्नुहुन्छ । उहाँको सरकारलाई प्रश्न छ ‘हाम्रो वचतको पैसा फिर्ता भएको छैन । हाम्रो पैसा कहिले फिर्ता हुन्छ ?’
विराटनगरका मुख्य कार्यालय रहेको सो सहकारीको झापा, सिरहा र उदयपुरको गाइघाटमा शाखा रहेका छन् । सहकारीका अध्यक्ष केदारनाथ शर्मासहित ८ जना सञ्चालकविरुद्ध २ वर्ष अघि नै मोरङ जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको छ । अध्यक्ष शर्मा फरार रहेपनि पक्राउ परेका सहकारीका क्षेत्रीय प्रबन्धक मन्दिप खवास, उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपानेलाई थुनामा राखिएको छ । सञ्चालक समितिका सदस्यहरू बन्टी अधिकारी, आदित्यराज भट्टराई, निर्मला पोखरेल भट्टराई, छविलाल विश्वकर्मा विरुद्ध ठगी मुद्दा दायर भएको छ ।









