दमक, चैत १२
गीत संगीतको प्रभाव कस्तो हुँदो रहेछ भन्ने कुरा त्यो बेलाको झापाको गाउँको एउटा कुनामा बस्दै आएका आदिवासी समुदायका सीताराम ताजपुरियालाई हेरे पुग्छ । आफु जन्मे हुर्केको बाउँबाजेको थलो झापाको ‘गौरादह’लाई गीतमा जोडेपछि उहाँसँगै गौरादहको पनि चिनारी बढ्यो र दुबै देश विदेशमा चर्चाको उचाईमा पुगे ।
२०१५ भदौ २० गते माता पार्वती र पिता बुद्धलाल ताजपुरियाका चार छोरामध्ये कान्छो सन्तानका रुपमा जन्मिनु भएका उहाँले निकै संघर्ष गरेर ०३७ सालमा रेडियो नेपालको लोक र आधुनिक दुबै गीतमा एकसाथ स्वर परीक्षा उत्तीर्ण गरेपछि त्यहीँ जागिरे जीवन विताउने समेत अवसर मिल्यो । ताजपुरिया जातिबाट सबैभन्दा पहिले रेडियो नेपालमा गीत रेकर्ड गराउने र जागिरे जीवनको इतिहास बनाउनु भएका उहाँले ३५ वर्ष रेडियो नेपाल काठमाडौंमा काम गर्नुभयो । रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकाश पाएपछि काठमाडौंको लामो बसाइ टुङ्ग्याएर उहाँ पत्नी लक्ष्मी ताजपुरियासँग आफ्नो पहिचान बनेको त्यही गौरादहमा अवकासप्राप्त जीवन विताइरहनु भएको छ ।
निम्न वर्गीय परिवारका पिता बुद्धलालको गीत संगीतमा भएको रुचीबाट प्रेरणा भरेर सीतारामले सानैदेखि भाडाकँुडा र डेस्क बेञ्च बजाउँदै भएपनि गीत गाउने गर्नुभयो । उहाँ दौडमा पनि अब्बल रहेको अवस्थामा विद्यालयका गुरुको सुझाव अनुसार उहाँले गायनतर्फको यात्रा मात्र रोज्नुभयो ।
०३७ सालमा रेडियोमा सुरुमा ताजपुरिया भाषाको गीत रेकर्ड भयो । ‘गौरादहको बजारैमा माया हाम्रो बस्यो’ बोलको गीत नै उहाँको मुख्य चिनारी बन्यो । भोजराज काफ्लेको शब्दको चारदिनको बाटो कटारी बजार, इन्द्र न्यौपानेको छिटको साडी चौबन्दी चोलीमा साथै अन्य अधिकांश आफ्नै शब्द संकलनका लोक तथा ३० वटा आधुनिक, २० वटा ताजपुरिया भाषाका गरी २ सयको हाराहारीमा उहाँका गीत रेडियो नेपालमा रेकर्ड छन् ।
०५७ सालमा तात्कालिन राजा वीरेन्द्रबाट गोरखा दक्षिणबाहु समेत प्राप्त गर्नुभएका उहाँले लोकतन्त्रपछि सञ्चारमन्त्रालयबाट सेवा पदक पनि प्राप्त गर्नुभयो । रेडियो नेपाल, गौरादह नगरपालिका, नझरेका फूलहरु विराटचोक, साहित्यक कला संगम दमकसहित दर्जनौं राष्ट्रिय तथा स्थानीय सम्मान प्राप्त गर्नुभएका उहाँका हालसम्म ३ वटा गीती एल्बम बजारमा आए । ताजपुरिया भाषाकोे ‘पेञ्जारिर सभाङ मैना पंखी’, म्युजिक नेपालबाट ०४२ सालताका ‘सीताराम ताजपुरियाका लोक गीतहरु’ र ०५० ताका लोकगीतकै एल्बम ‘चाहिने कुरा’ निस्कियो ।
उहाँले आफूले जीवनमा भेटेका महत्वपूर्ण अग्रज सर्जकहरुसँगको फोटोलाई घरभरी सजाएर राख्दै उहाँहरुको कदमलाई आत्मसाथ र सम्मान गर्नुभएको छ । नेपाली गीतसंगीत र चलचित्र क्षेत्रका स्टारहरु उहाँको घरसम्म आएर उहाँप्रति श्रद्धा अर्पण गर्नुभएको छ । अर्कातर्फ, उहाँको सम्मानमा स्थानीयले उहाँको घर अगाडि ‘सीताराम ताजपुरिया चोक’ नामाकरण गरेर फोटोअंकित बोर्ड नै टांगिदिएका छन् । घरको सिरानमा मुलढोकामाथि ‘गौरादहको बजारमा’…गीतको स्थायीलाई कुँदिएको छ ।
उहाँ विगत ४ वर्षदेखि मधुमेहको समस्या निकै बढेर आँखा देख्नमा कठिनाई भइरहेको छ । वरपरका केही कार्यक्रमहरुमा आयोजकले घरमै आएर डोर्याएर लाने र ल्याउने प्रवन्ध गर्दै उहाँको गीत संगीतप्रतिको योगदानप्रति थप सम्मानित गर्ने काम भइरहेको छ । उहाँसँग उज्यालो खबरको ‘अनुशीलन’ कार्यक्रममा भएको भिडियो अन्तर्वाता यहाँ प्रस्तुत छ :









