दमक, चैत १६
आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा अमेरिकी सरकारले त्यहाँ पुनर्वास भुटानी शरणार्थीलाई भूटान फिर्ता ल्याएर सरकारलाई जिम्मा लगायो । भुटानले जिम्मा लिएलगत्तै भारततर्फ ल्याएर छोड्यो । त्यसपछि भारतले आफ्नो सीमा कटाएर काँकडभिट्टा हुँदै नेपाल भित्र्याइदिएपछि नेपालले उनीहरुलाई पक्राउ गर्यो ।
भूटानले सन् १९९०/१९९१ मा नेपालीभाषीलाई यसैगरी आफ्नो देशबाट लखेटेर भारत ल्याएर छोडेको र भारतले उसैगरी आफ्नो सीमाना कटाएर नेपाल पठाएको थियो । त्यसपछि १ लाख बढीको नेपालका शिविरमा कष्टकर जीवन गुज्रिइरहेको थियो । त्यस अवस्थामा भुटानले स्वेदश फर्किन नदिएपछि वाध्यताबस आइओएममार्फत अमेरिकासहितका ८ मुलुकमा उनीहरुलाई पुनर्वास गराइएको थियो । अब अमेरिकाले त्यहाँको नागरिक भइसकेका उनीहरुलाई नै फेरि शरणार्थी बनाएर पठायो । उही आफ्नो पहिलेको शिविरमा आइपुग्दा नेपाल सरकारले पक्राउ गरेको यो घटना सुन्दा चलचित्रको कथाजस्तो लाग्छ । अर्थात मानवलाई कुनै पशु सरह खेलाउँदै उनीहरुको मानवअधिकारमाथि अमानवीय प्रहार भएको घटना यो बेला चर्चाको र चिन्ताको विषय बनिरहेको छ ।
अमेरिकी सरकारले अवैध रुपमा बसोबास गर्दै आएका अन्य देशका नागरिकलाई आफ्नै देश डिपोट गर्दै आएको परिवेशमा आफैंले लगेर पुनर्वास गराएकामध्ये ४ जना भुटानी शरणार्थीलाई आपराधिक गतिविधि गरको अभियोग लगाउँदै गत बिहीबार अमेरिकी बिमानमा भारतको नयाँदिल्ली ट्राञ्जिट गर्यो । शुक्रबार भुटानको पारो बिमानस्थलमा ल्याएर भुटानलाई जिम्मा लगायो । भुटानले तत्कालै उनीहरु आफ्नो नागरिक नभएको अर्थमा नेपालकै शिविरमा जान आफ्नो सीमाना कटाएर छोड्यो । राति भारतीय सुरक्षाकर्मीले पनि आफ्नो सीमाना कटाएर नेपालतर्फ ल्याएर छोडे । शुक्रबार बिहान उनीहरु आफू पहिले बसेको शिविर दमकस्थित बेलडाँगी आइपुगे । तर नेपाल प्रहरीले ती मध्ये ३ जनालाई पक्राउ गरेपछि उनीहरु अत्यन्तै विलखबन्दमा परेको अमेरिकामा पुनर्वास भुटानी पत्रकार अर्जुन प्रधानले दृष्टान्त उल्लेख गर्नुभयो । ‘यो खाले कार्यले उनीहरु यसैपनि समस्यामा परे । त्यसमा पनि भुटानसम्म आउँदा उनीहरुको नाम, फोटोसहितको गोपनियता कायमै थियो भनें त्यसपछि नेपाल आएपछि उनीहरुको नाम र चिनिनेगरिको फोटो सार्वजनिक गरेर सामान्य मानवअधिकारको समेत रक्षा नगरेर अझ मानसिक तनाब दिने काम भएको देखिन्छ ।’– उहाँले दुःख व्यक्त गर्नुभयो । ‘डिपोर्ट’मा परेका थप २ जना भुटानी शरणार्थी आइतबारसम्म पारो विमानस्थल उत्रिने जनाइएको छ ।
झापा प्रहरी प्रवक्ता वसन्त पाठक थापाले शनिबार पत्रकारहरुलाई प्रेस नोट पठाउँदै अमेरिकाबाट नेपालका शिविरमा छिरेका ३ जनालाई पक्राउ गरिएको जानकारी गराउनु भएको छ । प्रेस नोटमा भनिएको छ ‘देश अमेरिकाबाट बिभिन्न देश हँुदै भुटानी शरणार्थीहरु अबैधरुपमा नेपाल छिरी मिति २०८१।१२।१५ गते जिल्ला झापा दमक नगरपालिका वडा नम्बर ३ बेलडाँगी शिविरमा आइपुगी बसिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मिति २०८१।१२।१६ गते अन्दाजी दिउँसो २ बजेको समयमा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ ।’
तामाङ, दर्जी र सुवेदी थरका निजहरुलाई आवश्यक कारवाहीका लागि अध्यागमनको कार्यालय काँकडभिट्टामा पठाइएको झापा प्रहरीले जनाएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
भुटानले स्वदेशमा नस्वीकारेको र भारतले समेत भुटानी शरणार्थीलाई त्यहाँ शरण नदिने भएपछि भारत आइपुगेका भुटानीहरू नेपाल प्रवेश गर्न खोजिरहेको अवस्थामा सशस्त्र प्रहरीले समेत सीमामा उच्च निगरानी बढाएको छ । अमेरिका पुनर्वास भएर शिविरमा फर्काइएकाहरुको कानुनी तथा जिविकोपार्जनको जटिलता थपिने भएको छ ।
दक्षिणी भुटानका नेपालीभाषी नागरिक देश निकाला गरी शरणार्थी समस्या सुरू भएको ३५ पछि पहिलो पटक भुटानले अमेरिकासँग ‘आफ्नो नागरिक’ स्वीकार्दै डिपोटको लागि अनुमति दिएको थियो । त्यसअघिका शरणार्थीका विषयमा नेपाल र भुटानबीच १७ औं चरणका बार्ता विफल बनेपछि तेस्रो मुलुक पुनर्वासको विकल्प एक्कासी अघि बढाइएको थियो ।
अमेरिकी अध्यागमनको केन्द्रीय निकाय ‘इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)’ले विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको पुरानो रेकर्ड तथा अदालती फैसलाका आधारमा पछिल्लो दुई महिनामा ४० भन्दा बढी भुटानी शरणार्थी पक्राउ गरेको छ । अमेरिकी नागरिक पनि नबनेका र साथमा ग्रिनकार्ड पनि नरहेका यस्ता व्यक्ति पक्राउ हुने क्रम अहिले पनि जारी रहेको उल्लेख छ ।
घटनाको निन्दा
ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जीसीआरपीपीबी) का संस्थापक तथा विश्व संयोजक राम कार्कीले यो घटनालाई दुःखद खबरका रुपमा उल्लेख गर्नुभएको छ । ‘दुःखद खबर : दशकौंको इन्कारपछि भुटान अन्ततः यी शरणार्थीहरूलाई नागरिकको रूपमा स्वीकार्न बाध्य भयो । तैपनि, भुटानले उनीहरूलाई पाउनुपर्ने सम्मान र अधिकार प्रदान गर्नुको साटो फेरि एकपटक उनीहरूलाई दखल गरेको छ र निर्दयतापूर्वक भारतमा फ्याँकेको छ ।’– उहाँ लेख्नुहुन्छ ‘यस्ता कार्यहरू सभ्य राष्ट्रको आचरणबाट टाढा छन् । यो व्यवहार अस्वीकार्य छ र यसले भुटानको मानव अधिकार र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई कमजोर रूपमा प्रतिबिम्बित गर्दछ ।’
नेपाली साहित्य परिषद भुटानका अध्यक्ष गंगाराम लामिटारेले पनि अमेरिकाले आफैं पुनर्वास गराएर लगेकाहरुलाई यो खाले हालत बनाएकोप्रति दुःख व्यक्त गर्नु भएको छ । उहाँ फेसबुक वालमा लेख्नुहुन्छ ‘अमेरिकालाई पनि देखाइदियो दादागिरी । भारतले बोकुञ्जेल यो दादागिरी चलिरहनेछ । नेपालमा आन्दोलन चलिरहेको मौका छोपेर नेपाल पठायो । नेपाल चनाखो हुनुपर्छ । यो सबै नेपालकै गल्तिका कारण यो स्थिति आएको हो ।’ उहाँले अगाडि थप्नुभयो ‘सन् १९८९ मा शरण माग्न आएका रिजाललाई भुटान सुपुर्दगी नगरेको भए आज यो स्थिति आउने थिएन । नेपालको कूटनैतिक कमजोरी र द्रब्य लालसाले यो स्थिति जन्माएको हो । त्यसैले, यो मुद्धा अन्तराष्ट्रिय अदालतमा उठानुबाहेक अर्कों विकल्प छैन ।’









