दमक, चैत २२ । काठमाडौँको तीनकुनेस्थित सटरबाट दलबलसहित भागेका दुर्गा प्रसाईं झापाको काँकडभिट्टा नाका हुँदै भारत छिरेको पुष्टि भएको छ।
प्रहरीले प्रसाईं चढेकाे गाडी झापाको बीएन्डसी कलेजमा फेला पारेको छ।
बागमती प्रदेशको बीएबी ४२०८ नम्बरको स्कोर्पियो अहिले अपराध अनुसन्धान कार्यालयको नियन्त्रणमा टेकुमा राखिएको छ। प्रसाईंकाे कमान्डमा उत्रिएका राजावादी समर्थकले तीनकुनेका निजी घरमा ढुंगामुढा गरिरहेका थिए। स्थिति तनावग्रस्त बन्दै गएपछि प्रसाईं भने निजी सुरक्षाकर्मी र समर्थकको आडमा लुकेर धर्मगुरु पुष्कर खतिवडासँगै गाडीमा चढेर भागेकाे प्रहरी बताउँछ ।
सोही गाडीमा प्रसाईंसहित ६ जना बीपी राजमार्ग हुँदै काकडभिट्टा नाकासम्म पुगेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ।
बीएन्डसीमा फेला परेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर काठमाडौँ पुर्याइसकेको छ ।
चालककाे पछािड बसेर काँकरभिट्टा पुगेका प्रसाईं त्यहाँबाटै आफ्नो गाडी बीएन्डसीमा फर्काएर अर्को गाडीमा भारत गएको पुष्टि भएको छ।
प्रसाईंको खोजी गर्दै यसअघि दुईजना प्रहरी झापास्थित प्रसाईंको घरमा पनि पुगेका थिए। काठमाडाैंकाे तीनकुनेमा भएकाे विध्वंशका नाइके मानिएका प्रसाईंलाई पक्राउ गर्न भन्दै केही दिनदेखि झापा प्रहरी सक्रिय भएकाे थियाे । तर, प्रसाईं झापा हुँदै भारत पुगेकाे कुरा सुरक्षा संयन्त्रले सुइँकाेसम्म पाएन ।










