दमक, चैत २२ । स्वास्थ्य शिविर भन्ने बित्तिकै दूरदराजका गाउँमा गरिने उपचारकाे सम्झना हुन्छ, जहाँ विषेशज्ञ चिकित्सक भेट्न र स्वास्थ्य परामर्श पाउन पनि शिविरकै भर पर्नुपर्छ ।
दमक नगरपालिकाको वडा नं ६ नगरकै मुख्य बजार क्षेत्र हो । यहाँबाट ५ मिनेट भित्रमा सुविधासम्पन्न अस्पतालहरुमा पुग्न सकिन्छ । यस क्षेत्रमा भएका चिकित्सकलाई तुरुन्तै भेट्न र आफ्ना समस्या राख्न सकिन्छ । अनि यो वडा नगरका अन्य क्षेत्र र वडामा रहेका भन्दा बढी व्यवसायिक छन् । अर्थात् सम्पन्न छन् भन्ने पनि आम विश्वास र बुझाई छ । तर, यस्तो ठाउँमा पनि बेला बेलामा स्वस्थ्य शिविर चलिरहन्छ ।
अझ वडाले वर्षमा ६ वटा बिभिन्न रोगको स्वास्थ्य शिविर नै गर्ने गरी आफ्नो वार्षिक कार्यक्रम बनाउँछ र त्यसका लागि आवश्यकीय बजेट समेत बिनियोजन गर्छ ।
खासमा यसरी किन स्वास्थ्य शिविर गरिरहनु परेको होला ? वडाध्यक्ष टेकबहादुर थापाकाे जवाफ छ – ‘सरकारले हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्न भनेको छ । त्यहीअनुसार यहाँ पनि सुविधासम्पन्न ल्याव सहितको स्वास्थ्य केन्द्र छ । यो स्वास्थ्य केन्द्रमा राज्यको लगानी छ । राज्यले नागिरकको स्वाथ्यमा सहज परिक्षण गराओस् भन्ने उद्देश्य राखेको हो । सुरुमै ठुलो अस्पताल जानुभन्दा पहिला यहाँ आएर आफ्नो स्वास्थ्य परीक्षण गर्दै गर्ने बानी गराउन पनि यसखाले शिविर गर्नु परेको हो । ’
यही क्रममा शुक्रबार यहाँ प्रोस्टेट र मुख तथा दाँत रोगको निःशुल्क स्वास्थ्य परीक्षण गरियो । शिविरमा आउनेहरुको स्वास्थ्य परीक्षाणमात्र भइरहेको थिएन, शिविरको सहयोगी संस्था रहेको नेपाल औषधि व्यवसायी संघ झापा शाखाले निःशुल्क औषधि वितरण गरिरहेको थियो । दमक अस्पताल र दमक स्माईल डेण्टल केयर प्रालिका चिकित्सकले पूर्जामा लेखेका औषधीहरु सकेसम्म यही उपलव्ध गराएका थिए ।
शिविरमा प्रमुख अतिथि रहनु भएकी नगर उप प्रमुख रेगिना भट्टराई प्रसाई भन्नुहुन्छ ‘नगरले अहिल पहिला नागरिकको स्वास्थ्य जोगाउने काम गरेको र त्यसपछि मात्रै अन्य पूर्वाधार निर्माणको कामलाई प्रथमिकतामा राखेको छ ।’ उहाँ भन्नुहुन्छ – ‘यही अनुरुप प्रत्येक वडाका स्वास्थ्य केन्द्रको स्तरउन्नत्ति गर्दै छौ । दमक अस्पतालको क्षमता विकास गराउने काममा पनि लागीपरिरहेका छौ । ’
शिविरमा आउनेहरुको आवश्यकीय अनुसार निःशुल्क एक्स–रे समेतको सुविधा थियो । बजार क्षेत्रबाट आएका सर्वसाधारणहरुको उल्लेख्य उपस्थिति रहेको थियो । यत्तिको स्वास्थ्य सेवा लिन कुनै निजी अस्पतालमा जाने हो भने न्यूनतम स्वास्थ्य परीक्षणको मात्रै ५ देखि ८ सय रुपैयाँ लिइन्छ भने अन्य परीक्षाण र औषधिमा उत्तिकै खर्च हुन्छ । यी सबै सेवा वडामै निःशुल्क पाउँदा वडाबासी पनि दङ्ग देखिन्थे ।
वडा सदस्य कमल श्रेष्ठले सञ्चालन गर्नु भएको कार्यक्रममा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख चेतन निरौलाले शिविरको औचित्यसहित स्वागत गर्नु भएको थियो ।










