दमक, ११ बैशाख / हुर्के बढेका छोराछोरी पढ्न र कमाउन घर छोडेर लाखापाखा लागेपछि गाउँवस्तीमा बुढेसकालमा ज्येष्ठ नागरिकहरु एक्लो बन्दै गएको देखिन्छ । अर्कातर्फ पश्चिमा संस्कृतिको असरले ज्येष्ठ नागरिकहरु कतिपय अवस्थामा हेंला र बेसहरा बन्दै गएको परिवेशमा दमकमा १३० जना ज्येष्ठ माताहरुलाई एकसाथ सम्मानित गरेर उहाँहरुको मनमा खुसी ल्याउने प्रयत्न गरिएको छ ।
नजिकिएको मातातीर्थ औंशीका अवसर पारेर ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान दमकले नगरका १३ शाखाबाट १३० जना ज्येष्ठ माताहरुलाई दोसल्ला ओढाएर सम्मानित गरी उहाँहरुबाट आशिर्वाद ग्रहण गरेको छ । साथै उहाँहरुलाई खिर र फलफूल खुवाउने काम समेत भयो ।
दमक नगरपालिका कार्यालयको आर्थिक व्यवस्थापनमा सम्पन्न कार्यक्रममा नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईंले आमाहरुलाई सिंगो धर्ती र जिँउदो भगवानको संज्ञा दिँदै आमाका अपार महिला प्रस्तुत गर्नुभयो । त्यस्ता जननीहरुप्रतिको सम्मानमा नगरपालिका सधैं साथमै रहने जनाउनु भयो ।
७१ वर्षीया गुणमाया काफ्ले, ८० वर्षीया जानुकादेवी खनालसहितका ज्येष्ठ माताहरुले आफूहरुले यसखाले सम्मान पाएकोमा निकै खुसी व्यक्त गरेका छन् ।
बाबुको मुख हेर्ने कुशे औंशी र आमाको मुख हेर्ने मातातीर्थ औंशीमा ज्येष्ठ पिता मातालाई सम्मानको कार्यक्रम राख्दै आएको प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद पौडेलले जनाउनु भयो ।










