दरबन्दीमा शिक्षक तत्काल खटाउने आश्वासन

एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता, शिक्षक नहुँदा ३ वर्षदेखि कक्षा ५ स्थगित

 

 

 

झापा— झापाको देहाती बस्ती चिल्लारामा २ सय ५० बढी घरपरिवारको बसोबास छ । बस्तीमा करिब एक किलोमिटरको दूरीमा दुइटा प्राथमिक विद्यालय छन् । बस्तीको दक्षिणमा छ, चिल्लारा प्राथमिक विद्यालय ।

उक्त विद्यालयमा ९४ जना विद्यार्थी अध्ययनरत छन् । लोपन्मुख, सिमान्तकृत समुदाय मुसहर, माझी, सन्थाल र राजवंशी जातिका बालबालिका पढ्छन् । गौरीगन्ज गाउँपालिका ५ स्थित घना बस्तीमा विद्यालय अति आवश्यक छ । तर, चिल्लारा प्राविको हाल बेहाल छ । स्थानीय विष्णु राजवंशीले ५ कट्ठा जग्गा निःशुल्क दान गरेपछि २०६७ सालमा स्थापित विद्यालयमा ७ कोठाको एउटा भवन छ । त्यसमा एउटालाई स्टोर रुम बनाइएको छ । एउटामा कार्यालय र किचन सँगै राखिएको छ । बाँकीमा बालविकासदेखि कक्षा ४ सम्म पठनपाठन हुन्छ ।

विद्यालयमा एउटै पनि शिक्षक दरबन्दी छैन । गाउँपालिकाले निजी स्रोतबाट तीन जना शिक्षक राखेको छ । एक जना कार्यालय सहयोगी छन् । विद्यालयमा घेराबारा छैन् । घेराबारा नभएका कारण विद्यालय समयमै स्थानीयले प्रांगणमा चौपाया बाँधिदिन्छन् । कसैले धान सुकाउँछन् । खुल्ला भएकाले प्रांगणबाटै स्थानीयले ट्र्याक्टर चलाइदिन्छन् । ‘ट्र्याक्टर ओहोरदोहोर गर्दा पठनपाठनमा बाधा पर्छ । स्थानीयले धान सुकाउँदा र गाईबस्तु बाँध्दा विद्यार्थीले चौरमा खेल्न पनि पाउँदैनन्,’ शिक्षिका गीता राजवंशीले भनिन् ।

शिक्षक अभावमा एउटै कोठामा दुइटा कक्षा पढाउनुपर्ने बाध्यता छ । ‘शिक्षकले पाँच वटा कक्षा पढाउन कसरी भ्याउनु ?’ प्रधानाध्यापक बाबुराजा राजवंशीले भने, ‘बालविकासमा कक्षा १ तथा कक्षा ३ मा कक्षा ४ का विद्यार्थीलाई पनि सँगै राखेर पढाउँदै आएका छौं ।’ एउटा कोठामा दुइटा कक्षाका विद्यार्थी राखेर पढाउन समस्या हुने गरेको प्रअ राजवंशीको भनाइ छ ।

‘बालविकाससहित कक्षा ४ सम्मको पठनपाठन गराउन नै भ्याउदैनौं । दुइटा कक्षा एउटै कोठामा राखेर पढाउनुपर्छ । कि त एकछिन यता एकछिन उता गरेर एकै समयमा एक जना शिक्षकले दुइटा कक्षा पढाउनुपर्छ,’ प्रअ राजवंशीले भने, ‘शिक्षक नभएकै कारण तीन वर्षदेखि कक्षा ५ स्थगित गरेका छौं ।’

शिक्षक अभावका कारण विद्यार्थीको पढाइमा समस्या परेको बारे पटकपटक गाउँपालिकालाई जानकारी गराएको प्रअ राजवंशीको भनाइ छ । ‘दरबन्दीमा शिक्षक तत्काल खटाउने आश्वासन गाउँपालिकाले दिदै आएको छ । तर समस्याप्रति गम्भीर भएको पाएका छैनौं,’ उनले भने ।

विद्यालयमा निजी स्रोतबाट नियुक्ति पाएका शिक्षकले न्यूनतम पारिश्रमिकसमेत पाएका छैनन् । दुई जना शिक्षिकाले जनही मासिक ९ हजार ५ सय तथा प्रअ राजवंशीले मासिक १० हजार रुपैयाँमा काम गर्दै आएका छन् । ‘सरकारको निर्णयअनुसार बालविकासका शिक्षकलाई मासिक न्यूनतम १५ हजार रुपैयाँ दिनुपर्ने नियम छ । तर, हामी बालविकाससहित कक्षा ४ सम्म पढाउनेले मासिक १० हजार पनि पाएका छौंनौं,’ शिक्षिका शोभा राजवंशीले भनिन् ।

विद्यालयमा स्थानीय विषयका रूपमा राजवंशी भाषाको पढाइसमेत हुन्छ । नेपाली राष्ट्रिय भाषाहरू संरक्षण संस्था ललितपुरले राजवंशी भाषाको पाठ्यपुस्तक तयार गरेर निःशुल्क उपलब्ध गराएको छ । ‘बालविकास र कक्षा १ सम्मका विद्यार्थीले नेपाली भाषा बुझ्दैनन्/बोल्न जान्दैनन् । उनीहरूलाई स्थानीय राजवंशी भाषाकै माध्यमबाट पढाउनुपर्छ,’ शिक्षिका गीता राजवंशीले भनिन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गगन थापाको उद्घोषपछि पनि कर्णालीमा सरकार बदल्ने कसरत सुस्त

सुर्खेत,१० जेठ । २०८१ साउनदेखि कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको समर्थनमा एमालेका यामलाल कँडेल नेतृत्वमा सरकार सञ्चालनमा रहेको छ । एमाले–कांग्रेसको सहमती अनुसार गत चैत्रमा

जनस्वास्थ्य सुधारका लागि सुर्तीजन्य पदार्थमा भारी कर वृद्धिको माग

काठमाडौं,१० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा स्वास्थ्य विभाग प्रमुख तोसिमा कार्कीले सुर्तीजन्य पदार्थमा लाग्ने करको दरलाई वृद्धि गरी कम्तीमा ५० प्रतिशत

बागमती नदीमा डुबेर बेपत्ता भएका सर्लाहीका दुई युवक मृत फेला

सर्लाही,१० जेठ । रौतहट र सिन्धुलीको सीमानामा पर्ने झपसी झोलुङ्गे पुलमुनी बागमती नदी तर्ने क्रममा बेपत्ता भएका सर्लाहीका दुई युवक मृत अवस्थामा फेला परेका छन्।

मौसम परिवर्तनसँगै त्वचामा समस्या ? ग्लोरी ब्युटी पार्लरमा विशेषज्ञद्वारा ’स्किन टेस्ट’ सेवा

दमक,१० जेठ ।सुन्दरता—चाहे महिला होस् या पुरुष, सबैको व्यक्तित्वको एउटा आकर्षक पाटो हो। सुन्दर देखिने चाहना र हतारोमा हामी कतिपय अवस्थामा जानी–नजानी ठूला गल्तीहरू गरिरहेका

सगरमाथामामा पुगेर यसरि आफ्नो खु : शी साट्दै सेन्साई पेमा वाइबा

सोलुखुम्बु,१० जेठ । नेपाली हिमाल आरोही, फिल्ममेकर तथा हिमाली कथाकार सेन्साई पेमा वाइबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गर्नु भएको छ ।