झापा, २५ असोज। डिभिजन वन कार्यालय, झापाले गत वर्षदेखि हालसम्म विभिन्न प्रजातिका दुई लाख १० हजार बिरुवा उत्पादन गरेको जनाएको छ ।
उत्पादित बिरुवाहरु मध्ये एक लाख १० हजार ४७० बिरुवा वितरण गरिएको कार्यालयका सूचना अधिकारी अमृतकुमार लिम्बूले बताँउनु भयो । वितरित बिरुवाहरुमध्ये ६६ हजार २८२ बिरुवा सामुदायिक वन उपभोक्ता समूहहरूलाई र ४४ हजार १८८ बिरुवा व्यक्तिहरू तथा सङ्घ–संस्थाहरूलाई वितरण गरिएको उहाँले जानकारी दिनु भयो।
सूचना अधिकारी लिम्बूका अनुसार, ती बिरुवाबाट सामुदायिक वन क्षेत्रमा ४१ दशमलव ४२ हेक्टर र निजी तथा संस्थागत क्षेत्रमा २७ दशमलव ६१ हेक्टर भू–भागमा वृक्षरोपण गरिएको जनाएको छ । कार्यालयले लटहर, अर्जुन, तेजपात, बाँस, आउटेङ्गा, कुसुम, विजयसाल, कदम, मलेसियन साल, टिक, खमारी, टाँकी, वीरेन्द्रफूल, गोल्डमोहर, अमला, बकाइनो, जामुन, बडहर, जाडुल, किम्बुलगायत प्रजातिका बिरुवा उत्पादन र वितरण गरेको बताएको छ ।
हाल झापामा डिभिजन वन कार्यालयअन्तर्गत पाँच वटा नर्सरी सञ्चालनमा रहि आएका छन् । ती नर्सरीहरूमा करिब ९९ हजार ५३० बिरुवा बाँकी रहेको सूचना अधिकारी लिम्बूले बताँउनु भयो ।









