काठमाडौं,१३ जेठ । स्वतन्त्र सांसद महावीर पुनले आफूले विगत २६ वर्षदेखि कुनै पनि चलचित्र नहेरेको खुलासा गर्नु भएको छ । प्रतिनिधिसभा बैठकमा चलचित्र विधेयकमाथिको छलफल सुनेर बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले सन् २००० मा पोखराको एउटा हलमा ‘कारभान’ फिल्म हेरेयता हलमा गएर चलचित्र नहेरेको बताउनु भयो ।
चलचित्र विधेयक र नीतिबारे आफ्नो विशेष दखल नभए पनि चलचित्र क्षेत्रलाई केवल मनोरञ्जनको साधन मात्र ठान्न नहुने उहाँको तर्क छ । पुनले भने, ‘चलचित्र त शिक्षा र सामाजिक न्याय तथा उत्थानका लागि एउटा बलियो माध्यम हुनुपर्छ। मैले फिल्म नहेरेको भए पनि यस क्षेत्रलाई कहिल्यै हेला गरेको छैन ।’
आगामी बजेटबारे सोधिएको प्रश्नमा उहाँले देशको अर्थतन्त्र सुधार्न ‘नवप्रवर्तन, अनुसन्धान र प्रविधि’मा पर्याप्त बजेट आउनेमा आफू विश्वस्त नरहेको बताउनु भयो । वर्तमान अर्थमन्त्री र सरकारले नवप्रवर्तनको महत्त्वलाई गहिराइका साथ नबुझेको उहाँको आरोप छ ।
‘मैले धेरै ठुलो माग गरेको होइन, कुल पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत बजेट अनुसन्धान र प्रविधिका लागि छुट्याउनुपर्छ,’ पुनले भन्नु भयो, ‘३ खर्बको पुँजीगत खर्च हुँदा त्यसको १ प्रतिशत भनेको ३ अर्ब रुपैयाँ हो । यो बजेट भाषणमा समेटिए पनि सरकारले सजिलै छुट्याउन मान्दैन ।’
नेपालमा आयात भइरहेका सामानहरूमध्ये कम्तीमा १० देखि २० प्रतिशत सामान स्वदेशमै उत्पादन गर्न सके मात्र रोजगारी सिर्जना हुने र अर्थतन्त्र बलियो हुने उहाँले प्रष्ट पार्नुभयो । ‘देशमा उद्योगधन्दा र उद्यमी नजन्माएसम्म रोजगारी सिर्जना हुँदैन, जबसम्म कर उठ्दैन तबसम्म अर्थ मन्त्रालयको ढुकुटी भरिँदैन,’ पुनले थप्नु भयो, ‘अनि ढुकुटी नै खाली भएपछि सांसद र जनताले मागेका बाटो, पुल, स्कुल र अस्पताल कसरी बन्छन् ’
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयलाई देशकै सबैभन्दा संवेदनशील मन्त्रालय बनाउनुपर्ने र यसको नेतृत्व प्रधानमन्त्री आफैँले गर्नुपर्ने पुनको माग छ । मन्त्रालयका सचिवदेखि तल्लो तहका कर्मचारीसम्म राजनीतिक नियुक्तिका नभई सम्बन्धित क्षेत्रका विज्ञ हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
आफू मन्त्री बन्नका लागि यो कुरा उठाइरहेको भन्ने चर्चालाई खण्डन गर्दै उहाँले भन्नु भयो, ‘मलाई मन्त्री बन्ने कुनै रहर र वास्ता छैन । तर, अर्थमन्त्री वा अरू मन्त्रीले नवप्रवर्तनको महत्त्व बुझेनन् भने पनि प्रधानमन्त्रीले यसलाई उच्च प्राथमिकतामा राखेर अघि बढाउनुपर्छ ।’
उहाँले देशका शीर्ष नेताहरू र युवा पुस्तालाई कुनै उपदेश वा शिक्षा दिनुको सट्टा सबैलाई आफ्नो दिमाग लगाएर देश र जनताको हितमा सोच्न आग्रह गर्नु भयो ।









