दमक, १९ मंसीर । दमकमा अहिले नियमीत खानेपानी आइरहेको छ ? के तपाईको घरको धारामा पानी सुद्ध वा फिल्टर गरिएको पानीनै आइरहेको छ ? वा कुनै रङ्ग जस्तो देखिने धमीलो पानी पनि आइरहेको छ ? पहिला र अहिलेको पानी वितरणको स्थिती र अवस्था कस्तो छ ? भनेर हामीले दमकका केहि खानेपानीका उपभोक्ताको घर घरमै गएर हेर्ने र बुझ्ने प्रयास गरेका छौ ।
दमक ५ का भक्तबहादुर खड्काको घरमा अहिले नियमीत पानी आइरहेको छ । पहिला नियमीत नआएपनि पछिल्लो समय चाहि खानेपानी नियमीत आउने गरेको उहाँले बताउनु भयो । तर पानी सँधै राम्रो चाहि नआइरहेको उहाँको गुनासो छ । उहाँ भन्नु हुन्छ ‘पाँच छ दिनमा एक पटक पानी बाक्लो आउने, फिँजै फिँज आउने र केहि मिसिएको हो कि जस्तो गरेर पानी आइरहेको छ । ’ पानीमा छुट्टै प्रकारको गन्ध समेत आउने भएकोले उहाँहरुले पानीलाइ फिल्टर गरेर मात्रै सेवन गर्ने गरेको पनि प्रतिकृया दिनुभएको छ ।
तर दमककै भुवन कार्कीले चाहि पानीमा अहिले सम्म कुनै गन्ध आएको महसुस गर्नु भएको छैन । धाराबाट आएको पानी सोझै सेवन गर्ने गरेको र पहिला जस्तो धेरै समय सम्म पानी अवरुद्ध समेत नहुने गरेको बताउनु भयो । पानीको वितरणको स्थितीमा पनि सुधार भइरहेको उहाँको भनाई छ ।
यस्तै दमकका राजन कडरीयाको पनि अनुभव भुवनको जस्तै छ । पानी नियमीत आइरहेको छ । पानीमा खास दुर्गन्ध छैन । अन्य क्षेत्रको भन्दा दमकको पानी सेवन गर्दा पनि राम्रो र सुद्ध हो कि भन्ने अनुभव कडरीयाको छ ।
दमकमा खानेपानी वितरण अझै सबै ठाउँ भइसकेको छैन । भएका ठाउँमा पनि अझै २४ घण्टा नै पानी आउने गरीको व्यवस्था मिलाउन सकिरहिएको छैन । दमकको पानीको मागलाई पुरा गर्न खानेपानी तथा सरसफाई उपभोक्ता सस्था दमक १ ले एडिभिबाट ऋण सहयोग लिएर भएपनि दमकको खानेपानीको माग र अन्य समस्यालाई सम्बोधन गर्न सस्था लागीपरिरहेको सस्थाका अध्यक्ष रवी न्यौपाने खत्रीको भनाई छ ।
दमकमा खानेपानी तथा सरसफाई उपभोक्ता सस्था, बेलडाँगी खानेपानी आयोजना सञ्चालनमा रहेका छन् । तर यी आयोजनाले अझैपनि दमकमा पूर्णरुपमा खानेपानी वितरण गर्न सकिरहेका छैनन ।









