वीरगन्ज,२२ पुस । वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू कफ्र्यु आदेश पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति सुरक्षा अवस्था अझै सामान्य हुन नसकेको भन्दै कफ्र्यु अवधि बढाएको हो ।
मंगलबार दिउँसो एक सूचना जारी गर्दै प्रशासनले आज बेलुका ६ बजेसम्म कफ्र्यु रहने बताएको छ । आज दिउँसो १ बजेसम्मका लागि लागु गरिएको कफ्र्यु अवधि बेलुका ६ बजेसम्म निरन्तरता दिइएको सीडीओ भोला दाहालले बताउनु भयो ।
प्रशासनका अनुसार सम्भावित अवाञ्छित गतिविधि रोक्न र सार्वजनिक सुरक्षालाई सुनिश्चित गर्न कफ्र्यु अवधि थपिएको छ। यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरिएको थियो ।
कफ्र्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि किसिमका गतिविधि पूर्ण रूपमा निषेध गरिएको हो । अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन जिल्ला प्रशासनले आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कफ्र्यु आदेश उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कदम चालिने स्पष्ट गरेको छ ।
आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको हो ।
वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उतरमा गण्डक चोकसम्म कफ्र्यु लगाइएको बताएको छ ।










