इलाम,१७ कार्तीक । तिहार नजिकिएसँगै फूलको माग र कारोबार बढ्ने समयलाई लक्षित गरी इलाममा प्रथम गोदावरी प्रदर्शनी मेला आयोजना हुने भएको छ। फ्लोरीकल्चर नेपाल इलामको आयोजनामा कात्तिक १८ गतेदेखि २१ गतेसम्म इलाम बजारमा कोसी प्रदेशस्तरीय पुष्प प्रदर्शनी मेला सञ्चालन हुन लागेको हो।तिहारमा घर सजावट, भाइटीका तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यमा फूलको प्रयोग बढ्ने भएकाले पुष्प व्यवसायको प्रवर्द्धन र स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
मेलामा इलामसहित कोसी प्रदेशका विभिन्न जिल्लाका पुष्प व्यवसायीहरूको सहभागिता रहने फ्लोरीकल्चर नेपाल इलामकी अध्यक्ष रन्जिता याक्खाले जानकारी दिइनु भयो। उहाँका अनुसार प्रदर्शनीमा ३० वटा स्टल रहनेछन्।गोदावरी फूललाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने मेलामा सयपत्री, मखमली लगायत ४० भन्दा बढी जातका फूल प्रदर्शनी तथा बिक्रीका लागि राखिनेछन्।बुधबारदेखि सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ। तिहारको समयमा विशेषगरी सयपत्री र मखमली फूलको माग उच्च हुने गर्दछ। पछिल्लो समय घर तथा कार्यक्रमस्थल सजावटसँगै उपहारका रूपमा समेत फूलको प्रयोग बढ्न थालेपछि पुष्प व्यवसायप्रतिको आकर्षण पनि बढ्दै गएको छ।
यस्तो अवस्थामा आयोजना हुने प्रदर्शनीले फूल खेतीमा संलग्न किसान तथा व्यवसायीलाई आफ्ना उत्पादन प्रदर्शन, प्रचारप्रसार र बिक्री गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।आयोजकका अनुसार मेलाबाट ४० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार हुने अनुमान गरिएको छ। मेलाले पुष्प व्यवसायीबीच अनुभव आदानप्रदान, फूलका नयाँ जातबारे जानकारी आदानप्रदान तथा व्यावसायिक फूल खेती विस्तारमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ।तिहारको किनमेल तथा फूल खरिदका लागि इलाम बजार आउने उपभोक्ताले मेलामा एउटै स्थानबाट विभिन्न जातका फूल अवलोकन गर्नुका साथै आफूलाई आवश्यक फूल खरिद गर्न सक्नेछन्।
इलाममा पछिल्लो समय व्यावसायिक फूल खेती तथा बिक्री गर्नेहरूको सङ्ख्या बढ्दै गएको छ। हाल जिल्लामा दर्ता भएका ३० जना र दर्ताबिना व्यवसाय सञ्चालन गरिरहेका ३० भन्दा बढी पुष्प व्यवसायी रहेको जनाइएको छ।पुष्प खेतीप्रति बढ्दो आकर्षण र स्थानीय उत्पादनको बजार विस्तारलाई ध्यानमा राख्दै आयोजना गरिएको यो मेलाले इलामलाई पुष्प व्यवसायको सम्भावनायुक्त क्षेत्रका रूपमा चिनाउनसमेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ।










