दमक, २२ पुष । कोशी प्रदेश सरकार र दमक नगरपालिकाको तीन करोड ८३ लाख ६० हजार १६२ रुपैयाँको लागतमा दमक ८ मा एउटा भव्य भवन बनेको छ । स्थानीय किसानले उत्पादन गरेको त्यो पनि अर्गानिक तरकारी बेच्न भनेर यो भवन निर्माण गरीएको हो । तर यो भवन बनीसकेर स्थानीय सरकारलाई हस्तान्तरण गरेको समेत २ वर्ष बढि भइसकेपनि नगरपालिकाले भने अझै यसको सञ्चालन गर्न सकेको छैन । खासमा किन सञ्चालन गर्न दमक नगरपालिकाले नचाहेको हो ? के यहाँ किसान आउँनै नमानेका कारण बजार नचलेको हो ? आम उपभोक्ताको प्रश्न छ । राज्य स्तरबाट करोडौ लगानी भएर बनेको यो संचरना अहिले योग साधना केन्द्र गर्ने हलका रुपमा मात्रै प्रयोग भइरहेको छ । यसै सन्दर्भमा जीज्ञासा राख्दा दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले भन्नु भयो ‘कृषि बजारको संरचना सब्जी बजार सञ्चालनका लागि उपयुक्त छैन ।’ उहाँले संरचनाकै कारण कृषि बजार भाडामा लाग्न नसकेको पनि दावि गर्नुभयो ।
यो जैविक कृषि बजार रैथाने उत्पादनको प्रवद्र्धन र व्यापारका लागि निर्माण संरचना हो । झापास्थित दमकका छिमेकी स्थानीय तहसँगै इलाम र पाँचथरका रैथाने कृषिउपज बिक्री गर्ने योजनाका साथ कृषि बजार निर्माण गरिएको बताइएको छ । यहाँ दुईवटा शीतभण्डार पनि छन् । तर दुर्भाग्य आँगनभरी झार उम्रेर ढाकीएको छ । चिस्यान केन्द्र बनीसकेर पनि यत्तीकै वेवारीसे अवस्थामा थन्कनु परेको छ । किसान भने सहज चिस्यानको सुविधा नपाएर छटपटि रहेका छन् ।









