विराटनगर , असोज १०। भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याइँदै गरेका १३ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामग्रीहरू सशस्त्र प्रहरीले मोरङका विभिन्न सीमा इलाकाबाट बरामद गरेको छ।सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गण हेडक्वार्टर कंकालिनी मोरङ र सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीबाट खटिएको संयुक्त टोलीले असोज ९ गते मोरङको विभिन्न सीमा नाकाबाट ती सामानहरू नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी मेहेन्द्रबहादुर भण्डारीका अनुसार सीमा क्षेत्रमा अवैध चोरीपैठारी नियन्त्रणका लागि खटिएको गस्ती टोलीले भन्सार छली नेपालतर्फ भित्र्याउँदै गरेको अवस्थामा लत्ताकपडा, कस्मेटिक सामान तथा ढुवानीमा प्रयोग गरिएको १ थान अटोरिक्सा नियन्त्रणमा लिएको हो। एसपी भण्डारीका अनुसार बरामद गरिएका सामग्री तथा सवारी साधनको भन्सार दाखिला मूल्य कुल १३ लाख ३५ हजार ५२५ रुपैयाँ बराबर रहेको छ। बरामद गरिएका सम्पूर्ण सामग्रीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि विराटनगर भन्सार कार्यालय रानी, मोरङमा बुझाइएको एसपी भण्डारीले जानकारी दिए।









