काठमाडौं,२१ असोज । नेपाली कांग्रेसको राजनीतिमा युवा पुस्ताको सहभागिता बढ्न थालेको देखिएको छ । यही क्रममा १८ वर्षीया अभिप्सा पौडेलले बागमती प्रदेशबाट केन्द्रीय सदस्य पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ। उहाँले आफूलाई नेपालकै सबैभन्दा कान्छो उम्मेदवारका रूपमा प्रस्तुत गर्दै युवाको नेतृत्व र महिलाको सशक्तीकरणलाई आफ्नो प्राथमिकतामा राखेको बताउनु भएको छ।उम्मेदवारी दर्तापछि पौडेलले नेपाली कांग्रेसप्रति घट्दै गएको जनविश्वासलाई पुनः बढाउने र पार्टी संगठनलाई थप सुदृढ बनाउने आफ्नो उद्देश्य रहेको बताउनु भयो ।
नेपाल न्यूज बैंकसँग कुरा गर्दै उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेसप्रति घट्दै गएको जनविश्वासलाई फेरि बढ्दो क्रममा लिएर आउने र संगठन सुदृढ बनाउने मेरो पनि जिम्मेवारी हो । त्यही भएर मैले आफ्नो उम्मेदवारी दिएको हुँ ।’पौडेलले आफूले युवा र महिलालाई सधैँ प्राथमिकतामा राख्दै आएको बताउँदै देशका विभिन्न क्षेत्रका महिलालाई आफ्ना अधिकारबारे सचेत र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिइनु भयो । महिलाहरूले आफ्ना लागि आफैँ आवाज उठाउन सक्ने वातावरण निर्माण गर्नुपर्ने उहाँको भनाइ छ ।त्यस्तै, युवाका लागि देशमै रोजगारी र अवसर सिर्जना गर्नुपर्ने उहाँको धारणा छ । देशमै बसेर भविष्य निर्माण गर्न सकिने वातावरण बनेमा युवाले विदेशिनुपर्ने बाध्यता कम हुने र देशमै बस्दा गर्व महसुस गर्ने अवस्था सिर्जना गर्न सकिने उहाँले बताउनु भयो ।
राजनीतिमा प्रवेश गर्नुको कारणबारे पौडेलले बाल्यकालदेखि नै नेतृत्व गर्न र अरूका लागि आवाज उठाउन रुचि रहेको बताउनु भयो।‘राजनीति मेरो रुचिको विषय हो । मलाई सानैदेखि नेतृत्व गर्न मन लाग्थ्यो । कहिल्यै पनि लाइनको पछाडि बस्न मन लागेन र सधैँ अरूका लागि आवाज उठाउन मन लाग्थ्यो । त्यसैले राजनीतिमा आएको हुँ,’ उहाँले भन्नु भयो।उहाँले राजनीति ‘दिमागको खेल’ भएको उल्लेख गर्दै यसलाई आफूले चुनौतीपूर्ण र रुचिकर क्षेत्रका रूपमा लिएको बताउनु भयो ।यसैगरी पार्टीको नेतृत्व तहमा युवाको प्रतिनिधित्व सुनिश्चित गर्ने बहस भइरहेका बेला २३ वर्षीय गौरव पाण्डेले मधेस प्रदेशको युवा क्लस्टरतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएको छ ।
पाण्डेका अनुसार उहाँ ३५ वर्षमुनिको युवा क्लस्टरबाट केन्द्रीय सदस्य पदका लागि उम्मेदवार बन्नु भएको हो । उहाँले आफ्नो उम्मेदवारीलाई अग्रजप्रति सम्मान र युवाको साथलाई केन्द्रमा राखेर अघि बढाउने बताउनु भएको छ ।‘अग्रजलाई सम्मान र युवाको साथ’ भन्ने मूल भावनाका साथ आफूले उम्मेदवारी दिएको पाण्डेले बताउनु भयो । बदलिँदो राजनीतिक परिस्थिति र युवाको बढ्दो अपेक्षालाई सम्बोधन गर्न कांग्रेसभित्र युवाको अर्थपूर्ण सहभागिता आवश्यक रहेको उहाँको भनाइ छ ।उहाँले भन्नु भयो, ‘मैले अब अग्रजलाई सम्मान र युवाको साथ भनेको छु । अहिले जुन ‘देशको परिस्थिति, जुन राजनीतिक परिवर्तन जुन भयो, त्यसलाई आत्मसात् गर्दै नेपाली कांग्रेस पार्टीले युवाहरूको सहभागिता सुनिश्चितताको लागि जुन एउटा कोटा छुट्याएको छ, २१ वटामा, त्यसमा आफू क्यापेबल हो भनेर आफ्नो उम्मेदवारी दर्ता गराएको छु ।’
पाण्डेले संविधानले युवालाई स्थानीय तहदेखि संघीय राजनीतिसम्म प्रतिनिधित्वको अवसर दिएको उल्लेख गर्दै राजनीतिक दलमा पनि त्यसअनुसार युवाको सहभागिता हुनुपर्ने धारणा राख्नु भयो । उहाँका अनुसार देशको परिवर्तनमा राजनीतिक दलको महत्वपूर्ण भूमिका हुने भएकाले बदलिँदो पुस्ताको सोच र आवश्यकतालाई पार्टीको नीति तथा नेतृत्वमा समेट्न जरुरी छ ।विशेषगरी एआई र प्रविधिको युगमा कांग्रेसलाई प्रविधिमैत्री बनाउने, तर त्यसक्रममा अग्रज पुस्ताको अनुभव र योगदानलाई सम्मान गर्दै अघि बढ्ने उहाँको एजेन्डा छ ।‘अहिलेको एआईको जमानाको युवाले नेपाली कांग्रेसलाई कसरी एआईमैत्री बनाउन सक्छ र अग्रजहरूको भावना समेटेर अबको पुस्ताले त्यसलाई कसरी अगाडि लैजान सक्छ भन्ने मेरो मुख्य चासो हो,’ पाण्डेले भन्नु भयो।
उहाँले प्रविधिसँगै शिक्षा, नीति निर्माण, उद्यमशीलता र स्वरोजगारलाई पनि आफ्नो प्राथमिकतामा राख्नु भएको छ । नेपालमा लगानीमैत्री वातावरण निर्माण हुन नसकेको विषय उठाउँदै त्यसका लागि अनुसन्धानमा आधारित अध्ययन र नीतिगत पहल आवश्यक रहेको उहाँले बताउनु भयो ।पाण्डेका अनुसार कांग्रेसले युवाको भावना मात्र होइन, पार्टीका लाखौँ कार्यकर्ताको अपेक्षालाई समेत समेटेर आगामी दिनको नीति निर्माण गर्नुपर्ने आवश्यकता छ । त्यसका लागि युवाको सहभागितालाई औपचारिक प्रतिनिधित्वमा मात्र सीमित नगरी नीति निर्माण र पार्टी सञ्चालनका महत्वपूर्ण तहमा उनीहरूको भूमिका बढाउनुपर्ने उहाँको धारणा छ ।‘टेक्नोलोजी, एजुकेसन, पोलिसी मेकिङ, उद्यमशीलता र स्वरोजगारका विषयमा रिसर्च बेस्ड स्टडी गरेर पार्टीको आगामी नीतिमा समेट्न सकिन्छ,’ उहाँले भन्नु भयो ।
२३ वर्षको उमेरमै कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनु भएका पाण्डेको दाबीले पार्टीभित्र युवा पुस्ताको प्रवेश र नेतृत्वमा पुस्तान्तरणको बहसलाई समेत सतहमा ल्याएको छ । उहाँको उम्मेदवारीसँगै कांग्रेसको आगामी नेतृत्व र नीतिमा युवाको भूमिका कति प्रभावकारी रूपमा स्थापित हुन्छ भन्ने विषय चासोको विषय बनेको छ ।यसैगरी पार्टीको केन्द्रीय नेतृत्वमा युवा पुस्ताको उपस्थिति बढाउने बहस भइरहेका बेला सुदूरपश्चिमका विनोदराज जोशीले पनि खुलातर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनु भएको छ ।आफू जेनजी पुस्ताको आवाज, विचार र एजेन्डालाई पार्टीको केन्द्रीय तहमा प्रतिनिधित्व गराउन उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।जोशीका अनुसार उहाँको उम्मेदवारीका तीन प्रमुख उद्देश्य छन् । पहिलो, आफू सम्बद्ध जेनजी पुस्ताको आवाज र विचारलाई कांग्रेसको केन्द्रीय प्लेटफर्ममा पुर्याउनु हो । दोस्रो, लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसलाई समयअनुकूल रूपान्तरण र पुनर्जागरणतर्फ लैजानु हो । तेस्रो, बदलिँदो विश्व परिवेशसँग सम्बन्धित नयाँ एजेन्डालाई पार्टीको नीति निर्माणमा समेट्नु हो ।
उहाँले प्रविधिको तीव्र विकास, आर्टिफिसियल इन्टेलिजेन्सदेखि सुपर इन्टेलिजेन्ससम्मको बहस, बदलिँदो विश्व भू–राजनीति, जलवायु परिवर्तन तथा लैंगिक अल्पसंख्यकका अधिकार जस्ता विषयमा कांग्रेसले स्पष्ट नीति बनाउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।‘विश्व परिवेशमा नयाँ–नयाँ एजेन्डा आइरहेका छन् । प्रविधिको विकास तीव्र छ, विश्वको जियोपोलिटिक्स बदलिरहेको छ । क्लाइमेट चेन्जको असर हामीले भोगिरहेका छौँ । यस्ता विषयमा पार्टीको स्पष्ट नीति निर्माण गर्न पनि मेरो उम्मेदवारी हो,’ जोशीले भन्नु भयो ।उहाँले कांग्रेस र नयाँ जेनजी पुस्ताबीच पछिल्लो समय देखिएको दूरी घटाउन पनि आफ्नो उम्मेदवारी केन्द्रित रहेको बताउनु भयो । नयाँ पुस्ताका अपेक्षा, विचार र राजनीतिक प्राथमिकतालाई पार्टीले बुझ्नुपर्ने भन्दै उहाँले दुई पुस्ताबीच संवाद र सहकार्य आवश्यक रहेको धारणा राख्नु भयो।
दार्चुलामा जन्मिएका जोशीले आफू सुदूरपश्चिमको प्रतिनिधि भएकोमा गर्व रहेको बताउनु भयो । लामो समयदेखि विकासका दृष्टिले पछाडि परेको सुदूरपश्चिममा पर्यटन, व्यापार तथा कृषिसहित विभिन्न क्षेत्रमा ठूलो सम्भावना रहेको उहाँको भनाइ छ ।ऐतिहासिक, भौगोलिक र पूर्वाधारका कारण सुदूरपश्चिमको विकास प्रक्रिया अन्य क्षेत्रको तुलनामा ढिलो भएको उल्लेख गर्दै उहाँले अब भने प्रदेशका सम्भावनालाई राष्ट्रिय विकाससँग जोड्नुपर्ने बताउनु भयो।सुदूरपश्चिमबाट काठमाडौं आएर विभिन्न क्षेत्रमा काम गरिरहेका युवाहरूको संख्या ठूलो रहेको उल्लेख गर्दै उहाँले आफूहरू जहाँ रहे पनि आफ्नो जन्मभूमिका समस्या र सम्भावनासँग जोडिएको बताउनु भयो । सुदूरपश्चिमका विकटता, सामाजिक तथा आर्थिक समस्या र विकासका सम्भावनालाई राष्ट्रिय राजनीतिको बहसमा ल्याउनुपर्ने उहाँको भनाइ छ ।
जोशीले महाधिवेशनपछि कांग्रेसको केन्द्रीय समितिमा ३५ वर्षमुनिका युवाको प्रतिनिधित्व बढ्ने बताउनु भएको छ । उहाँका अनुसार पार्टीको संरचनामा युवाको सहभागिता सुनिश्चित गर्ने व्यवस्थाले नयाँ पुस्तालाई नेतृत्वमा आउने अवसर प्रदान गरेको छ ।उहाँले आगामी दिनमा युवाहरूले पार्टीभित्र सक्रिय र प्रभावकारी भूमिका खेल्दै दुई पुस्ताबीच ‘ब्रिज’ को भूमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।उहाँका अनुसार युवाको भूमिका केवल संख्यात्मक प्रतिनिधित्वमा सीमित हुनुहुँदैन। नीति निर्माण, पार्टी सञ्चालन र समसामयिक विषयमा कांग्रेसको धारणा निर्माणमा समेत युवाको प्रभावकारी सहभागिता आवश्यक छ ।‘अबको अधिवेशनपछि नेपाली कांग्रेसमा युवाहरूको सक्रिय र हस्तक्षेपकारी भूमिका रहनेछ । दुई पुस्ताबीच एउटा ब्रिजको भूमिका खेल्दै जनताले फेरि कांग्रेसप्रति विश्वास गर्न सक्ने कांग्रेस निर्माणमा युवा पुस्ताले भूमिका खेल्नुपर्छ,’ जोशीले भन्नु भयो।









