विराटनगर,२१ असोज । भारततर्फ लैजाँदै गरिएको २४ किलो ४०० ग्राम गाँजासहित प्रहरीले विराटनगरबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत, बिहारको अररिया जिल्ला फुलकाहा–१ का २० वर्षीय प्रवेशकुमार साह र सोही उमेरका सुरेशकुमार साह छन्।
अस्थायी प्रहरी पोस्ट भेडियारीबाट खटिएको टोलीले बुधबार बिहान करिब ११ः३० बजे विराटनगर महानगरपालिका–१८ स्थित रेल्वे क्षेत्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो। भारततर्फ जाँदै गरेको बिआर ३८ एई ०४९७ नम्बरको मोटरसाइकललाई शङ्का लागेर जाँच गर्दा दुईवटा ठूला कालो प्लास्टिकका पोकामा लुकाइराखिएको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिनु भयो। बरामद गाँजा र मोटरसाइकलसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।









