झापा, २२ असोज । सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाले चालु आर्थिक वर्षको तीन महिनामा भन्सार छली र अवैध चोरी–निकासी तथा पैठारी गरिएका रु चार करोड १५ लाख ६२ हजारभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। गणका अनुसार साउन महिनामा रु एक करोड ५५ लाख पाँच हजार, भदौमा रु एक करोड ४८ लाख एक हजार र असोजको हालसम्म रु एक करोड १२ लाख ५४ हजार बराबरको अवैध सामान नियन्त्रणमा लिइएको हो। गत आर्थिक वर्षको सोही अवधिमा भने रु दुई करोड २० लाख ८९ हजार बराबरको सामान बरामद भएको थियो।
भन्सार छली तथा तस्करीमा संलग्न चार जनालाई ३५ वटा सवारीसाधन सहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल नं २ गणका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यका अनुसार सीमा नाकामा निगरानी र सुरक्षा परिचालन प्रभावकारी बनाइएकाले बरामद परिणाम बढेको हो। “चोरी–निकासी तथा पैठारी नियन्त्रणका लागि भन्सार, नेपाल प्रहरी लगायत सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्दै नाकाबाटै कडाइ गरिएको छ,” उहाँले भन्नुभयो।
राजस्व चुहावट नियन्त्रणसँगै सीमा क्षेत्रमा लागूऔषध ओसारपसार र प्राकृतिक स्रोतको दोहनविरुद्ध पनि कारबाही तीव्र पारिएको छ। सशस्त्र प्रहरीका सूचना अधिकारी सुजित विष्टका अनुसार चालु आवमा ५८.८९ ग्राम ब्राउनसुगर (खैरो हेरोइन) सहित दुई महिलासहित १५ जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाइएको छ। यस्तै, नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारमा प्रयोग गरिएका २६ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएर रु ६ लाख ५० हजार जरिवाना गरिएको छ।सीमा सुरक्षा, तस्करी नियन्त्रण र राजस्व संरक्षणलाई उच्च प्राथमिकतामा राखेर मातहतका सम्पूर्ण युनिटहरूलाई कडा निगरानीका साथ परिचालन गरिएको एसपी कर्माचार्यले बताउनुभयो।









