विराटनगर,२५ असोज । विराटनगरबाट प्रहरीले ५२ ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य अररिया जिल्ला जोगबनी कुश्मा–७ का १९ वर्षीय राजेश कुमार राय र ३५ वर्षीय राधाकृष्ण राय रहेका छन् ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार उनीहरूलाई आइतबार दिउँसो विराटनगर महानगरपालिका–१८ स्थित पेट्रोल पम्प अगाडिबाट पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा उनीहरूलाई रोकेर जाँच गरेको थियो ।साइकलमा सवार उनीहरूमध्ये पछाडि बसेका राधाकृष्णको साथबाट ५२ ग्राम १५० मिलिग्राम खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले लागुऔषध र साइकलसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








