काठमाडौं,२६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कुनैपनि किसिमको दबाब वा प्रभावमा नपरी नागरिकले शान्ति–सुरक्षाको अनुभूति गर्नेगरी कार्यसम्पादन गर्न नवनियुक्त प्रहरी अधिकृतहरूलाई निर्देशन दिनु भएको छ।सोमबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आयोजित ‘प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४ औं समूह’ को दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पेसागत सफलताको मुख्य मानक नै नैतिकता, निष्ठा र इमानदारिता भएको बताउनु भएको छ ।
‘कुनैपनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारिता हो,’ प्रधानमन्त्री शाहले भन्नु भयो, ‘पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डहरूको सही पालना गर्नु–गराउनुले सफलता हासिल गर्न मद्दत पुग्छ ।’ उहाँले प्रहरी सेवामा आबद्ध सबैका लागि जिम्मेवारीप्रति जवाफदेहीता अनिवार्य सर्त भएको उल्लेख गर्नु भएको छ ।प्रधानमन्त्री शाहले मुलुकमा निरन्तर शान्ति सुरक्षा कायम राख्न, अपराध अनुसन्धान गर्न र संकटको घडीमा नागरिकको जिउधनको रक्षा गर्न नेपाल प्रहरी सदैव अग्रपंक्तिमा रहने स्मरण गराउनु भयो ।दीक्षित प्रहरी अधिकृतहरूलाई सङ्गठनको मर्यादा कायम राख्न सचेत गराउँदै उहाँले भन्नु भयो, ‘तपाईंहरूको असल कर्मले नै असल भविष्य निर्माण गर्नेछ। मलाई विश्वास छ, तपाईंहरू कुनै पनि दबाब वा प्रभावमा पर्नुहुने छैन र सङ्गठनको प्रोटोकलविपरीत व्यक्तिगत स्वार्थका गतिविधिमा संलग्न हुनुहुने छैन ।’
बदलिँदो समयसँगै अपराधका स्वरूप र प्रवृत्ति फेरिएको उल्लेख गर्दै उहाँले अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक तथा प्रमाणमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग अपरिहार्य रहेको औंल्याउनु भयो ।प्रधानमन्त्री शाहले प्रविधिमैत्री र प्रभावकारी अनुसन्धानका लागि आवश्यक पर्ने सम्पूर्ण स्रोत–साधन उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो ।१६ महिना लामो आधारभूत तालिम पूरागरी कार्यक्षेत्रमा प्रवेश गर्न लागेका प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई पूर्ण रूपमा व्यवहारमा उतार्न आग्रह गर्नु भयो। साथै, आफ्ना सन्तानलाई चुनौतीपूर्ण सेवामा पठाउने अभिभावकहरूप्रति आभार व्यक्त गर्दै उहाँले प्रतिष्ठानलाई समेत धन्यवाद दिनु भयो।
यस्तै, प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सात दशक लामो इतिहासमा अनेकौं चुनौती सामना गर्दै नागरिकको सुरक्षामा सदैव अग्रपंक्तिमा रहेर काम गरिरहेको बताउनु भयो।उहाँले राजनीतिक परिवर्तन, द्वन्द्व र विपद्का बीच पनि संगठनले जिउधनको सुरक्षाको दायित्व कुशलतापूर्वक पूरा गरेको उल्लेख गर्नु भयो ।उहाँले भन्नु भयो, ‘राष्ट्र र नागरिक सेवाको यस महत्वपूर्ण दायित्वमा प्रवेश गर्न आफ्ना सन्ततीलाई प्रेरित गरी यस गौरवपूर्ण क्षणसम्म ल्याइपुर्याउने सम्पूर्ण अभिभावकप्रति धन्यवाद व्यक्त गर्दछु । वि.स २०१२ सालको प्रहरी ऐनमार्फत संस्थागत स्वरुप प्राप्त गरेको नेपाल प्रहरीले सात दशक लामो गौरवशाली यात्रामा विभिन्न आरोह अवरोहसँगै राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण, द्धन्द्ध, आन्दोलन, प्राकृतिक प्रकोप तथा विभिन्न सुरक्षा चुनौतीहरुको सामना गर्दै नागरिकको जिउधनको स्वतन्त्रता र सुरक्षाको संरक्षणमा निरन्तर अग्रपङतिमा रहेर जिम्मेवारी निर्वाह गर्दै आएको छ ।’









