झापा, २९ असोज । झापाको मेचीनगर नगरपालिका–११ स्थित मखन मिलनजिक गएराति मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार गएराति करिब ९ः ३० बजे तल्लो धाइजनबाट माथिल्लो धाइजनतर्फ जाँदै गरेको मे८प १३२१ नम्बरको १५० सीसीको यामाहा एफजेड मोटरसाइकल भित्री कच्ची सडकमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको थियो।
दुर्घटनामा परेर मेचीनगर नगरपालिका–१२, सहरेडाँगीका २७ वर्षीय तिलकुमार पुरी गम्भीर घाइते हुनुभएको थियो। टाउकोमा गम्भीर चोट लागेका उहाँलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पुर्याइए पनि उपचारकै क्रममा राति करिब १० : ३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। दुर्घटनाग्रस्त मोटरसाइकललाई प्रहरी चौकी चारआलीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।









