उपचार कक्षबाट राजनीतिसम्मः डा. योसिका भट्टराई

विराटनगर,९ कार्तीक । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा निर्वाचित डा. योसिका भट्टराईको राजनीतिक यात्रा चासोको विषय बनेको छ । पेशाले चिकित्सक रहनु भएकी भट्टराई राजनीतिमा प्रवेश गर्नुअघि स्वास्थ्य क्षेत्रका समस्यासँग प्रत्यक्ष जोडिनु भएको थियो । उपचारमा सर्वसाधारणको पहुँच, आर्थिक अभावका कारण बिरामीले भोग्नुपर्ने कठिनाइ र स्वास्थ्य सेवाको सीमितताले उहाँलाई राजनीतिमा सक्रिय हुन प्रेरित गरेको छ । उहाँ राजनीतिमार्फत स्वास्थ्यसहित शिक्षा, रोजगारी र विकासका आधारभूत क्षेत्रमा सुधार गर्नुपर्ने बताउँनु हुन्छ।

राजनीतिमा प्रवेश गर्दाको अनुभव, पार्टीभित्र समावेशी प्रतिनिधित्वको महत्त्व, युवाका समस्या र जनताको विश्वास जित्न निर्वाह गर्नुपर्ने भूमिकाबारे नेपाल न्युज बैंकका लागि कोशी प्रदेश प्रतिनिधि खेमराज सापकोटाले डा. भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश :

तपाईंको चुनावी अनुभव कस्तो रह्यो ?

सुरुमा मैले आफ्नो क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएको थिएँ । त्यहाँ पुगेदेखि नै राम्रो समर्थन पाएँ । मैले आफ्नो राजनीतिक पृष्ठभूमि नभएको र राजनीतिबारे धेरै जानकारी पनि नभएको कुरा स्पष्ट रूपमा राखेकी थिएँ । तर समाजका लागि केही गर्नुपर्छ र आफूले सक्ने सेवा प्रदान गर्नुपर्छ भन्ने मेरो भावना थियो । मतदाताले त्यसलाई बुझिदिनुभयो र साथ दिनुभयो ।

म आफैँ पनि आश्चर्यचकित हुन्थेँ । एक जनासँग भोट माग्न जाँदा उहाँले अरू चार–पाँच जनालाई समेत भेटाइदिनुहुन्थ्यो । ‘तपाईंजस्तो मान्छेलाई अगाडि बढाउनुपर्छ, रोक्नु हुँदैन’ भन्ने भावना मतदातामा पाएँ । उहाँहरूले मप्रति देखाउनुभएको विश्वास र समर्थनकै कारण आज यो स्थानमा आइपुगेकी हुँ ।

कांग्रेसले विभिन्न समुदाय र समूहको प्रतिनिधित्व सुनिश्चित गर्न अपनाएको क्लस्टर प्रणालीलाई कसरी लिनुभएको छ ?

नेपाली कांग्रेसले विभिन्न जातजाति, समुदाय, पुस्ता र समूहको प्रतिनिधित्व सुनिश्चित गर्न क्लस्टरको व्यवस्था गरेको छ । यसले सम्बन्धित समुदायका समस्या पार्टीभित्र उठाउन सहज बनाउँछ ।युवा, महिला वा कुनै समुदायका मानिसले समस्या भोगिरहेका छन् भने त्यसलाई पार्टीभित्र उठाउन र समाधानका लागि पहल गर्न सम्बन्धित समूहको प्रतिनिधित्व आवश्यक हुन्छ । त्यसैले सबैको आवाज समेट्ने वातावरण सिर्जना गर्न कांग्रेसले गरेको यो अभ्यास राम्रो लागेको छ ।

चिकित्सक भएर पनि राजनीतिमा लाग्नुपर्ने आवश्यकता किन महसुस गर्नुभयो ?

यसका दुई–तीनवटा कारण छन् । पहिलो कुरा, समाजमा परिवर्तन ल्याउन राजनीतिमा पनि सक्रिय हुनुपर्छ भन्ने मलाई लाग्छ । चिकित्सकको काम दैनिक बिरामीको उपचार गर्नु हो । म विराट टिचिङ हस्पिटलमा काम गर्छु । हाम्रो क्षेत्रमा आर्थिक अवस्था कमजोर भएका धेरै बिरामी हुनुहुन्छ । उहाँहरूका लागि उपचारको खर्च जुटाउनै कठिन हुन्छ । कतिपय अवस्थामा आवश्यक परीक्षण र अनुसन्धानसम्म पहुँच पु¥याउन समस्या हुन्छ ।

यस्तो अवस्था देख्दा दुःख लाग्छ । हामीले अध्ययन गरेर हासिल गरेको ज्ञान र सीपबाट बिरामीलाई सेवा दिन चाहन्छौँ, तर सबै अवस्थामा चाहेजस्तो सेवा दिन सकिँदैन । यसबाट स्वास्थ्य सेवामा सुधार गर्न चिकित्सकको व्यक्तिगत प्रयास मात्र पर्याप्त नहुने रहेछ भन्ने महसुस भयो । त्यसैले समस्याको नीतिगत समाधान खोज्न राजनीतिमा आउनुपर्छ भन्ने लाग्यो ।

नेपाली कांग्रेस रोज्नुको कारण पनि छ । यो लोकतान्त्रिक सिद्धान्तमा विश्वास गर्ने र व्यक्तिले आफ्नो विचार तथा आवाज राख्न पाउने पार्टी हो भन्ने मेरो बुझाइ छ । पार्टीको सिद्धान्त र लोकतान्त्रिक मूल्यप्रति मेरो विश्वास छ । देशका लागि केही गर्नुपर्छ र लोकतन्त्र आवश्यक छ भन्ने भावना बोकेर म कांग्रेसमा आबद्ध भएकी हुँ ।

राजनीतिमा प्रवेश गरेपछि कस्ता चुनौती देख्नुभएको छ ? तिनको समाधान कसरी गर्न सकिन्छ ?

हरेक व्यक्तिको सोच, विचार र प्राथमिकता फरक हुन्छ । त्यसैले सबैको विचार मिल्छ भन्ने हुँदैन । तर व्यक्तिगत प्राथमिकता र स्वार्थभन्दा माथि उठेर देश र जनताको हितलाई केन्द्रमा राख्न सक्नुपर्छ ।कुनै विषयमा फरक मत भए पनि संवाद र सहमतिका आधारमा अघि बढ्नुपर्छ । व्यक्तिगत सोचमा आवश्यकताअनुसार सम्झौता गरेर साझा उद्देश्यका लागि मिलेर काम गर्न सक्नुपर्छ । देश र जनताको हित नै हाम्रो मुख्य उद्देश्य हुनुपर्छ ।स्वास्थ्य, शिक्षा र यातायात कुनै पनि देशको विकासका आधार हुन् । यी क्षेत्रमा नागरिकको पहुँच सहज बनाउन आवश्यक छ । त्यसका लागि सबै पक्षबीच छलफल गरेर स्पष्ट योजना बनाउनुपर्छ । जनताले आधारभूत सेवा सहज रूपमा पाउने अवस्था सिर्जना गर्नेतर्फ राजनीति केन्द्रित हुनुपर्छ ।

जनताको विश्वास जित्न र आफूले पाएको जिम्मेवारीलाई न्याय गर्न के गर्नुपर्छ ?

जनताको विश्वास जित्न सबैभन्दा पहिले उहाँहरूको मन जित्नुपर्छ । त्यसका लागि मेहनत गर्नुपर्छ । जनताले विश्वास गरेनन् भनेर हार मानेर बस्नु हुँदैन । आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ र जिम्मेवारीअनुसार काम गरेर देखाउनुपर्छ ।मलाई अहिले आफ्नो पद र जिम्मेवारीप्रति निकै गम्भीर महसुस हुन्छ । यो पदमा पुगेपछि म त्यसका लागि योग्य हुनुपर्छ र आफूलाई दिइएको जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो भूमिकालाई न्याय गर्न सक्नुपर्छ भन्ने लाग्छ ।आज विश्वास गरेर भोलि नै जनताले सबै कुरा स्वीकार गरिहाल्छन् भन्ने हुँदैन । त्यसका लागि समय लाग्छ । मैले यसका लागि काम गरेर विश्वास जित्नुपर्छ । जनताको विश्वास व्यवहार र कामबाट हासिल गर्ने हो ।

युवाका मुख्य समस्या के हुन् ? रोजगारी र आर्थिक अवसर बढाउन के गर्नुपर्छ ?

मुख्य समस्या रोजगारीकै हो । एउटा उमेरमा पुगेपछि मानिसले आफ्नो परिवारलाई आर्थिक रूपमा सहयोग गर्न सक्नुपर्छ । तर आफैँ आत्मनिर्भर हुन नसक्दा र परिवारलाई सहयोग गर्न नसक्दा निराशा बढ्छ ।त्यसैले नेपालमै व्यापार, व्यवसाय र रोजगारीका अवसर कसरी सिर्जना गर्न सकिन्छ भन्ने विषयमा ध्यान दिनुपर्छ । लगानी गर्न चाहने व्यक्तिलाई प्रोत्साहन गर्नुपर्छ । सरकारले लगानीमैत्री वातावरण बनाउनुपर्छ, ताकि लगानीकर्ताले सहज रूपमा व्यवसाय गर्न सकून् ।लगानी बढेपछि नयाँ व्यवसाय खुल्छन् र रोजगारीका अवसर सिर्जना हुन्छन् । त्यसैले युवालाई रोजगारी दिने मात्र नभई उनीहरू आफैँले व्यवसाय सुरु गर्न सक्ने वातावरण बनाउनु पनि आवश्यक छ । यसका लागि सरकारले स्पष्ट नीति, सहज प्रक्रिया र लगानीका लागि अनुकूल वातावरण तयार गर्नुपर्छ ।

पार्टीभित्र हुने आलोचना र अब कांग्रेसले लिनुपर्ने कार्यदिशालाई कसरी हेर्नुभएको छ ?

हामीले पार्टीगत आग्रहका आधारमा एकअर्काको आलोचना गर्नु हुँदैन। आलोचना गर्दा रचनात्मक हुनुपर्छ । अरूले राम्रो काम गरेको छ भने त्यसको प्रशंसा पनि गर्न सक्नुपर्छ ।अरूको राम्रो पक्षलाई स्वीकार गर्न सकियो भने आफूले त्यसबाट सिकेर अझ राम्रो काम गर्न सक्छौँ । अरूले गरेको राम्रो कामको प्रशंसा गर्दै आफूले त्यसलाई कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने सोच राख्नुपर्छ ।एकअर्काको खुट्टा तान्नेभन्दा मिलेर अघि बढ्नु आवश्यक छ । अरूले राम्रो काम गर्दा त्यसको प्रशंसा गर्ने र आफूले त्यसको भन्दा अझ राम्रो काम कसरी गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढ्नुपर्छ । राजनीति प्रतिस्पर्धा मात्र होइन, देश र जनताको हितका लागि सहकार्य गर्ने माध्यम पनि हो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कांग्रेसमा पूर्ण एकता हुन सकेन : महामन्त्री प्रदीप पौडेल

काठमाडौँ,९ कार्तीक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीमा पूर्ण एकता कायम हुन नसकेको स्वीकार गर्दै एकताका लागि आफूहरूले विभिन्न प्रयास गरेको बताउनु भएको छ

उदयपुरमा जिप दुर्घटना : चालकसहित १५ जना घाइते

उदयपुर ,९ कार्तीक । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–४ मरुवामा बोलेरो जिप दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका

सभामुख अर्याल र अमेरिकी संसदीय प्रतिनिधिमण्डल बीच भेटवार्ता

काठमाडौँ ,९ कार्तीक। सभामुख डीपी अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको वेज एण्ड मिन्स कमिटीका सभापति जेसन स्मिथसहितको संसदीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

महिला इन्जिनियर माथि हातपात गर्ने चौधरी पक्राउ

सुनसरी,९ कार्तीक । इटहरी उपमहानगरपालिकामा कार्यरत महिला इन्जिनियर माथि हातपात गरेको आरोपमा अर्का इन्जिनियर पक्राउ परेका छन्।इटहरी–९ मा कार्यरत इन्जिनियर एलिना अधिकारी माथि हातपात गरेको

डिजिटल भोटिङबाट स्थानीय तहका उम्मेदवार छानिन्छ : सभापति गगन थापा

स्याङ्जा ,९ कार्तीक । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू चुनावभन्दा दुई–तीन महिनाअगावै टुंगो लगाइने बताउनु भएको छ। स्याङ्जामा आयोजित

धानबाली जोगाउन किसान चिन्तित, सुरक्षाकर्मीको गस्ती तीव्र

झापा, ९ कात्तिक । झापामा धान पाक्ने समय नजिकिएसँगै किसानमा जङ्गली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ। खेतबारीमा लगाएको धान जोगाउन रातभर जाग्राम बस्नुपर्ने अवस्थाका

उपचार कक्षबाट राजनीतिसम्मः डा. योसिका भट्टराई

विराटनगर,९ कार्तीक । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र नेतृत्वबारे बहस भइरहेका बेला नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट कोशी प्रदेशतर्फ युवा महिला केन्द्रीय सदस्यमा