स्याङ्जा ,९ कार्तीक । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारहरू चुनावभन्दा दुई–तीन महिनाअगावै टुंगो लगाइने बताउनु भएको छ। स्याङ्जामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले अब पार्टीमा परम्परागत शैलीबाट टिकट वितरण नहुने स्पष्ट पार्नु भयो। पार्टीको विधानमा व्यवस्था भएबमोजिम सदस्यहरूले डिजिटल मतदान मार्फत उम्मेदवार चयन गर्ने विधि यसै स्थानीय तहको निर्वाचनबाट व्यावहारिक रूपमा कार्यान्वयन गरिने उहाँको भनाइ छ।
उम्मेदवार छनोट प्रक्रियाबारे प्रस्ट्याउँदै उहाँले सुरुमा प्रारम्भिक सूची तयार गरी विभिन्न तहमा छलफल गरेपछि मात्र अन्तिम निर्णय लिइने बताउनु भयो। उम्मेदवार छनोट प्रक्रियालाई पूर्णतः पारदर्शी, व्यवस्थित र समयमै सम्पन्न गर्न पार्टी प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नु भयो। यसैगरी, पार्टीका क्रियाशील सदस्यहरूको विवरण अद्यावधिक गर्ने कार्य एक महिनाभित्रै सम्पन्न गरिने सभापति थापाले जानकारी दिनु भयो। १५ औं महाधिवेशनका क्रममा सदस्यता अद्यावधिक गर्न छुटेका तर अधिवेशनमा सहभागी भएका सदस्यहरूको विवरण पनि तत्काल अद्यावधिक गरिने उहाँले बताउनु भयो।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण आगामी कात्तिक १२ गते हुने तय भएको छ। शपथलगत्तै बस्ने केन्द्रीय समिति बैठकले देशभर पार्टी जागरणसहित विभिन्न सांगठनिक अभियानहरू घोषणा गर्ने उहाँले बताउनु भयो।










