उदयपुर ,९ कार्तीक । सिद्धिचरण राजमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–४ मरुवामा बोलेरो जिप दुर्घटना हुँदा चालक सहित १५ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक राजन चापागाईँका अनुसार प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेको हो।
दुर्घटनामा कटारी नगरपालिका–११ का २९ वर्षीय चालक निर्पबहादुर खड्का सहित उदयपुर, झापा, मकवानपुर, महोत्तरी र सिन्धुलीका यात्रु घाइते भएका छन्। घाइते हुनेहरूमा बालबालिका तथा ज्येष्ठ नागरिकसमेत छन्।घाइते सबैको कटारी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर चोट लागेका कटारी–२ का ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ। सामान्य उपचारपछि चालक खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको प्रारम्भिक कारण ब्रेक फेल बताइए पनि घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।








